काठमाडौँ, नेपाल । नेपाली सूचना प्रविधि (IT) क्षेत्र र यहाँका नवप्रवर्तनकारी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यका साथ प्रतिष्ठित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ (ASOCIO Digital AI Award 2026) को लागि आवेदन आह्वान गरिएको छ । एसियन-ओशिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) द्वारा आयोजना गरिने यस अवार्डमा नेपालको तर्फबाट डिजिटल अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को क्षेत्रमा उल्लेख्य योगदान पुर्याइरहेका कम्पनी तथा संस्थाहरूले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
यस वर्षको मुख्य थिम “नेपाली टेक उद्यमी अवसर: आफ्ना उत्पादन र सेवाहरूलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्नुहोस् र एसोसियो डिजिटल एआई अवार्ड २०२६ प्राप्त गर्नुहोस्” (Nepali Tech Entrepreneur Opportunity for global showcase your products and services and gets ASOCIO Digital AI Award 2026) रहेको छ ।
अवार्डबारे चर्चा गर्दै एसोसियोका उपाध्यक्ष नवराज कुँवरले भने, “यो नेपाली प्रविधि उद्यमीहरूका लागि आफ्ना उत्पादन र सेवाहरूको गुणस्तर तथा सान्दर्भिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने र प्रतिष्ठित वैश्विक अवार्ड हात पार्ने एउटा ऐतिहासिक अवसर हो ।”
त्यसैगरी, क्यान महासंघ (CAN Federation) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सम्पूर्ण नेपाली प्रविधि कम्पनी, स्टार्टअप र सरोकारवालाहरूलाई आफ्नो संस्थागत प्रोफाइल दर्ता गर्न आग्रह गरेका छन् । उनले थपे, “यो मञ्च नेपाली समाज र समुदायमा स्थानीय प्रविधिले पारेको सकारात्मक प्रभावलाई विश्वसामु उजागर गर्ने र नेपाली प्राविधिक प्रतिभाको वैश्विक क्षमता प्रदर्शन गर्ने विशिष्ट माध्यम हो ।”
नेपाली प्रविधि कम्पनीहरूलाई प्रोत्साहन र सशक्तिकरण गर्न क्यान महासंघले सधैँ अग्रणी भूमिका खेल्दै आएको परिप्रेक्ष्यमा क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले यस प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन महासंघले पूर्ण रूपमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्र्नुर ।
अवार्डका विधाहरू (Award Categories)
यस वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगमार्फत विभिन्न क्षेत्रमा रूपान्तरण ल्याउने उत्कृष्ट पहलहरूलाई निम्न ८ विधाहरूमा पुरस्कृत गरिनेछ:
१. एआई इन साइबर सेक्युरिटी अवार्ड (AI in Cybersecurity Award): साइबर सुरक्षा, डिजिटल प्रतिरोध क्षमता र इमर्जिङ थ्रेटहरू विरुद्ध एआईको प्रयोग गर्ने संस्थाहरूका लागि ।
२. एआई फर पब्लिक गुड अवार्ड (AI for Public Good Award): सामाजिक, वातावरणीय र दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न एआई प्रयोग गर्ने पहलहरू ।
३. एआई इन एजुकेसन अवार्ड (AI in Education Award): शैक्षिक पारिस्थितिकी प्रणाली र सिकाइको गुणस्तर सुधार गर्ने प्रविधि ।
४. एआई इन हेल्थकेयर अवार्ड (AI in Healthcare Award): स्वास्थ्य सेवा प्रवाह र क्लिनिकल परिणाममा सुधार ल्याउने एआई समाधान ।
५. एआई इन स्मार्ट एग्रिकल्चर अवार्ड (AI in Smart Agriculture Award): कृषि उत्पादकत्व र किसानहरूको आर्थिक सबलीकरणमा योगदान पुर्याउने नवप्रवर्तन ।
६. एआई इन फाइनान्सियल सर्भिसेज अवार्ड (AI in Financial Services Award): बैंकिङ, फिन्टेक र बिमा क्षेत्रमा सुरक्षित र समावेशी वित्तीय रूपान्तरण ।
७. एआई इन वर्कफोर्स एन्ड फ्युचर स्किल्स अवार्ड (AI in Workforce & Future Skills Award): डिजिटल अपस्किलिङ र भविष्यको डिजिटल अर्थतन्त्रका लागि जनशक्ति तयार गर्ने पहल ।
८. एआई इन म्यान्युफ्याक्चरिङ / सप्लाइ चेन अवार्ड (AI in Manufacturing / Supply Chain Award): औद्योगिक उत्पादन र ढुवानी (Logistics) प्रक्रियालाई एआईमार्फत चुस्त बनाउने समाधान ।
योग्यता र मापदण्ड (Eligibility Criteria)
योग्य आवेदक: कर्पोरेट संस्थाहरू (SMEs र ठूला उद्योग), स्टार्टअप, सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्थाहरू, र गैर-नाफामूलक संस्थाहरू ।
आवश्यकता: प्रस्तावित एआई समाधान कम्तीमा ‘पाइलट चरण’ (Pilot Stage) मा कार्यान्वयन भएको हुनुपर्नेछ र विगत २४ महिनाभित्र स्पष्ट नतिजा देखाएको हुनुपर्नेछ ।
एक आवेदकले मात्र एक विधामा आवेदन दिन सक्नेछन् ।
महत्त्वपूर्ण मितिहरू (Timeline)
आवेदन दिने अन्तिम मिति: १५ मे २०२६ (संसोधित/थप गरिएको समय सीमाको लागि सचिवालयमा सम्पर्क गर्न सकिनेछ)
विजेताहरूको घोषणा: ३० मे २०२६
अवार्ड वितरण समारोह: ३० जुलाई २०२६ (एसोसियो डिजिटल एआई समिट २०२६ को अवसरमा)
आवेदन प्रक्रिया र फर्म्याट : इच्छुक संस्थाहरूले तोकिएको ढाँचामा PDF फलो गर्दै (Trebuchet MS फन्ट, न्यूनतम १२ pt, १-इन्च मार्जिन) ४ देखि ५ पानाको प्रस्ताव बुझाउनुपर्नेछ । प्रस्तावमा कभर पेज, १ पानाको कार्यकारी सारांश (Executive Summary), संस्थाको पृष्ठभूमि, एआई परियोजनाको प्राविधिक उत्कृष्टता, र उत्तरदायी एआई व्यवस्थापन (Responsible AI & Governance) खुलाउनुपर्नेछ ।





















