हेटौंडा । कुनै बेला बन्द हुने र कुनै बेला संचालन हुने नियति भोग्दै आएको हेटौंडा सिमेन्ट उद्योगमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निरीक्षण गरिन् ।
लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको उद्योगको अवस्थाबारे मन्त्री यादवले छलफलसमेत गरिन् । उद्योग निरीक्षणपश्चात् उनले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु दुखद भएको बताउँदै सरकार बन्द रहेका सबै उद्योग नियमित संचालन गर्ने तयारीमा रहेको बताइन् । यस विषयमा अध्ययन भइरहेको उनको भनाइ छ ।
त्यहाँ रहेका समस्या छिट्टै हल गरेर नियमित संचालनको वातावरण निर्माण गरिने उनले बताएकी छिन् ।
यसमा व्यवस्थापन र कर्मचारीहरुलाई सहयोग गर्न उनले आग्रह गरिन् ।
कार्यक्रममा हेटौंडा सिमेन्ट उद्योगका निमित्त महाप्रवन्धक शिवनारायण साहले मेसिन पुरानो र जीर्ण भएकाले समय–समयमा विग्रिने र आर्थिक संकटका कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग बन्द भएको जानकारी दिएका थिए ।
आर्थिक समस्याका कारण कर्मचारीहरुलाई ११ महिनादेखि तलबभत्ता उपलब्ध गराउन नसकिएको, कच्चा पदार्थ आपूर्तिकर्ताको पुरानो बक्यौता तिर्न नसकेको, बिजुली महसुल भुक्तानी गर्नेलगायत समस्या भएको उनको भनाइ छ ।
वि.सं २०३३ सालमा हेटौडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।





















