काठमाडौं । नेपाल हस्तकला महासंघ, जिल्ला तथा प्रदेश परिषद्को आयोजनामा तीन दिने ‘हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी’ सुरु भएको छ । महासंघले आज बालुवाटारमा आयोजना गरेको उक्त कार्यक्रमको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले शुभारम्भ गरिन् । उनले हस्तकला क्षेत्रको विकासलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताइन् ।
श्रेष्ठले नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै प्रदेशको बजेटमा हस्तकलामैत्री नीति र बजेट ल्याइने बताइन् । बागमती प्रदेशभित्र उत्पादित हस्तकलाका सामानलाई बजारीकरण गर्न प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गर्ने उनले बताइन् ।
कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले देशभर छरिएर रहेका जिल्ला सङ्घलाई एकीकृत गर्दे त्यहाँ उत्पादित सामग्रीलाई प्रदर्शनी गर्नका लागि मेला आयोजना गरिएको जानकारी दिए । उनले नेपालमा उत्पादित हस्तकला सामग्रीलाई स्वदेशमै प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । अध्यक्ष शाक्यले बागमती प्रदेशले मङ्सिर २८ गतेलाई हस्तकला दिवस मनाउनका लागि बागमती प्रदेशले घोषणा गरेकोमा स्वागत व्यक्त गरे ।
महासंघकी उपाध्यक्ष एवं मेलाकी संयोजक मलिका श्रेष्ठले कला र संस्कृतिको धनी नेपालमा उत्पादित हस्तकला सामग्रीको प्रवद्र्धन गर्नका लागि मेला कोशोढुंगा सावित हुने दाबी गरिन् । कार्यक्रममा उपस्थितलाई धन्यवाद दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यले मेलाका माध्यमबाट हस्तकलाको विकासमा ठूलो सहयोग पुग्ने भनाइ राखे ।
मेलाको माध्यमबाट आय आर्जन गरी जिल्ला संघहरूको सबलीकरणमा सहयोग पुर्याउने, हस्तकला उद्योग व्यवसायबाट आय आर्जन र रोजगारीको अवसर वृद्धि गर्ने, स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्ने, हस्तकला उत्पादन र परम्परागत परिकारको व्यावसायिक विकासमा सहयोग गर्ने, तथा स्थानीय कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
मेलाको मुख्य आकर्षणको रूपमा हस्तकला प्रदर्शनी तथा बिक्री कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरूको प्रदर्शन, स्थानीय उद्यमी, कलाकार र कालिगढहरूको प्रत्यक्ष सीप प्रदर्शन, तथा स्थानीय उत्पादन र परम्परागत रैथाने परिकारहरूको स्वाद पस्कने विशेष फुड स्टलहरू रहेका छन्। मेलामा काठमाडौँ उपत्यका भित्रका जिल्लालगायत संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बागलुङ लगायतका जिल्लाहरूबाट त्यहाँका स्थानीय जिल्ला संघहरूको सहभागिता रहेको छ ।
यो मेलाले स्थानीय हस्तकला उत्पादनको बजार विस्तार हुने, उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क स्थापित हुने, स्थानीय उद्यमी, कलाकार र कालिगढहरूको सीप, क्षमता तथा मनोबल अभिवृद्धि हुने, र मूर्त तथा अमूर्त कला संस्कृति एवं परम्परागत परिकारको संरक्षणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।
मेलामा मेक इन नेपाल र मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुहरूको करिब ७० वटा व्यापारिक स्टल राखेर वस्तु तथा सेवाको विशेष प्रदर्शनी मेलामा भइरहेको छ । मेलामा आउने सम्पूर्ण आमन्त्रित तथा सर्वसाधारणका लागि निःल्क प्रवेशको व्यवस्था मिलाइएको छ। मेलाको साझेदार संस्थाहरूको रूपमा प्रमोटिङ पार्टनर हेल्भेटास नेपाल, लजिस्टिक पार्टनर एभरेष्ट डि कार्गो, ट्राभल पार्टनर लक्की ट्राभल, प्रिन्टिङ पार्टनर विजय अफसेट, र इन्स्योरेन्स पार्टनरका रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रहेका छन्। त्यसैगरी मिडिया पार्टनरको रूपमा आर्थिक अभियान राष्ट्रिय दैनिक तथा सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, एनएमबि बैंकसमेत रहेका छन् ।





















