skip this News Page Tips Ad Road Block

मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । द हिडन ट्रेजरले बहुप्रतीक्षित मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। नेपालभरि तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएकाे छ। आवेदन दिने अन्तिम मिति जेष्ठ २५, २०८३ (२०२६ जुन ०८) सम्म रहेको छ।

मिस नेपाल २०२६ को ग्रान्ड फिनाले २०८३ साउन १६, शनिबार (२०२६ अगस्ट ०१) पुल्चोकस्थित द प्लाजामा आयोजना गरिने द हिडन ट्रेजरले जनाएकाे छ। यस कार्यक्रमले सौन्दर्य, प्रतिभा र गरिमाको अद्भुत प्रस्तुति दिनेछ। ग्रान्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने विजेताहरूले विश्वमञ्चमा सराहनीय प्रदर्शन गर्दै स्वदेश फर्किएका छन्। मिस नेपाल इन्टरनेशनल २०२५- उरुषा भण्डारीले २०२५ नोभेम्बर २७ मा टोकियोमा आयोजित मिस इन्टरनेशनलमा सहभागिता जनाइन्, मिस नेपाल अर्थ २०२५- सोनी घलेले २०२५ नोभेम्बर ५ मा फिलिपिन्सको मनिलामा आयोजित मिस अर्थमा सहभागिता जनाउँदै ट्यालेन्ट राउण्ड जितिन् र मिस नेपाल कोस्मो २०२५-दीपशिखा नेपालले २०२५ डिसेम्बर २० मा भियतनाममा आयोजित मिस कोस्मो प्रतियोगितामा सहभागिता जनाइन्। उनीहरूले आफ्नो सहभागिता र उपस्थिति मार्फत राष्ट्रलाई गौरवान्वित बनाएका छन्।

मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ। आवेदकसँग नेपाली नागरिकता हुनुपर्छ। विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्नेछन्। दर्ता निःशुल्क छ।

यस वर्षको प्रतियोगिताबाट ३ जना विजेताहरू घोषणा गरिनेछन् मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल।

द हिडन ट्रेजरले कजारिया रमेश टाइल्स लिमिटेड कम्पनी मुख्य शीर्ष प्रायोजक तथा नटराज ज्वेलर्सलाई सह-प्रायोजककाे रूपमा रहेकाे जनाएकाे छ । नटराज ज्वेलर्स गत वर्षदेखि यसकाे क्राउन पार्टनर हो। संस्थाले सबै सह-प्रायोजक, साझेदार तथा सहयोगीहरूलाई निरन्तर अमूल्य योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गरेकाे छ ।

अर्को मिस नेपालको खोज देशका विभिन्न सहरहरू बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरमा सञ्चालन गरिनेछ। साथै, यस अवधिमा काठमाडौंका १० कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिने द हिडन ट्रेजरले जनाएकाे छ।

अन्तिम अडिसन जेष्ठ २६, २०८३ (२०२६ जुन ९) मा काठमाडौंमा आयोजना हुनेछ। छनोट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा सुमिङ प्राप्त गर्नेछन् ।

थप जानकारीका लागि वा मिस नेपाल २०२६ को आवेदन दिन, www.missnepal.com.np मा वा Miss Nepal मोबाइल एपमा लग इन गर्न सकिनेछ।

Health Tips Ad Road Block