काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चयन/निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढेको छ । महासंघले एक सूचना जारी गरी प्रक्रिया अगाडि बढेको स्पष्ट पारेको हो ।
सूचनाअनुसार नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा एवं निर्वाचन पश्चात विधान–२०४९(सातौं संशोधन सहित) को दफा २९.५ र दफा २९.८ बमोजिम वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन/निर्वाचन मिति २०८३ जेठ ८ गते शुक्रबार बिहानको ९ बजे महासंघ सचिवालय काठमाडौंमा बस्ने कार्यकारिणी समितिको बैंठकबाट हुनेछ ।
उक्त पदहरुमा उम्मेदवारी मनोनयन गर्न ईच्छुक विधानको दफा ६५ र ६७ बमोजिम योग्यता पूरा गरेका महासंघका कार्यकारिणी समितिका पदाधिकारी पूर्व एवं बहालवाला कार्यकारिणी समितिका सदस्यहरुले उम्मेदवारी दिन सक्नेछन् ।
सूचनामा महासंघको विधान अनुसार योग्यता पुगेका कार्यकारिणी समिति सदस्यहरुले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन भनिएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको लागि मनोनयन दाखिला गर्दा मनोनयन शुल्क क्रमश पाँच लाख रुपैयाँ र तीन लाख रुपैयाँ बुझाउनुपर्ने उल्लेख गरिएको छ ।
यही वैशाख २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको ६० औँ वार्षिक साधारण सभाले महासंघमा नयाँ नेतृत्व चयन गरेको थियो ।





















