काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गते शुक्रबारदेखि १० गतेसम्म काठमाडौँको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ आयोजना हुँदैछ । वार्षिक २८ अर्ब रुपैयाँ बराबरको निर्यात र लाखौंलाई रोजगारी दिइरहेको यो क्षेत्रले देशको कला, संस्कृति, सीपको संरक्षण र प्रवद्र्धन गर्दै आएको छ । मेलाकाे मल्लिका श्रेष्ठ मेला आयोजक समितिकी संयोजक छिन् । महासंघकी उपाध्यक्ष श्रेष्ठले प्राकृतिक रेशासँग सम्बन्धीत काममा रहेर महासंघको उपाध्यक्षका साथै जिल्ला तथा प्रदेश परिषद्को नेतृत्व गर्दछिन् । प्रस्तुत छ महासंघकी उपाध्यक्ष एवं मेला संयोजक श्रेष्ठसँगको संवादमा आधारित संपादित अंशः
काठमाडौंमा जेठ ८ गतेदेखि आयोजना हुने ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ को प्रमुख उद्देश्य
मेला आयोजना गर्नुको मूलभूत उद्देश्य महासंघका विभिन्न प्रदेश तथा जिल्ला स्तरमा उत्पादित हस्तकला वस्तुहरूको प्रदर्शनी एवं व्यापक प्रचार प्रसार गर्नु हो । देशका दुर्गम र कुनाकाप्चामा रहेका स्थानीय हस्तकला उद्यमीहरूलाई बजारको पहुँचमा सिधा सहयोग पुर्याउनु र हस्तकला उत्पादनको व्यवसायिक विकासमा टेवा पुर्याउनु यसको मुख्य लक्ष्य हो । मेरो जिम्मेवारी जिल्ला तथा प्रदेश परिषद् हेर्ने भएकाले यस मेलाको विशेष उद्देश्य नै जिल्ला तथा प्रदेशहरूलाई आर्थिकरूपमा सबल, सक्षम र आत्मनिर्भर तुल्याउनु हो । हामीले यसपटक केवल उत्पादन मात्र होइन, त्यहाँको मौलिक कल्चरल डान्सहरू र परम्परागत स्वादिष्ट परिकारहरू पनि एउटै छानामुनि देखाउँदैछौं, जसले गर्दा उद्यमीहरूको प्रोडक्टको प्रवद्र्धन हुनुको साथै उनीहरूको जिल्लाको पहिचान र संस्कृतिको पनि राम्रो प्रवद्र्धन हुनेछ ।
मेलाबाट महासंघले प्राप्त गर्ने उपलब्धि
महासंघले मेलाका माध्यमबाट स्थानीय हस्तकला उत्पादनको बजार व्यापक रूपमा विस्तार हुने मुख्य अपेक्षा गरेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । यसले गर्दा हाम्रा स्थानीय उद्योगी, कलाकार र कालिगढहरूको सीप, क्षमता तथा मनोबल निकै अभिवृद्धि हुनेछ । देशको मूर्त तथा अमूर्त कला संस्कृति र लोपोन्मुख परम्परागत परिकारहरूको संरक्षण र प्रवद्र्धनमा मेला कोसेढुङ्गा सावित हुने विश्वास आयोजकको छ । मुख्यतः मेलाको माध्यमबाट आय आर्जन गरी जिल्ला संघहरूको सबलीकरणमा सहयोग पुर्याउने, हस्तकला उद्योग व्यवसायबाट आय आर्जन र रोजगारीको अवसर वृद्धि गर्ने, स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्ने, हस्तकला उत्पादन र परम्परागत परिकारको व्यावसायिक विकासमा सहयोग गर्ने, तथा स्थानीय कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
हस्तकला क्षेत्रमा आबद्ध देशैभरका उद्यमीहरूले मेलाबाट प्राप्त गर्ने अवसर
हस्तकला मेला देशैभरका उद्यमीहरूका लागि एउटा उत्कृष्ट लर्निङ र नेटवर्किङ प्लेटफर्म हो । मेलामा काठमाडौं उपत्यकाका अतिरिक्त संखुवासभा, मकवानपुर, दाङ्ग, बाजुरा, ताप्लेजुङ्ग, चितवन, बर्दिया, काभ्रेपलान्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ्ग, तनहुँ, पाल्पा र बागलुङ लगायतका जिल्ला संघहरूको सक्रिय सहभागिता रहनेछ । यसरी देशभरका जिल्लाका जिल्लाका उद्यमीहरु एकै छानामुनी एकैसाथ एकै थलोमा सहभागी हुँदा उद्यमीहरूले एकले अर्काको उत्पादन, फिनिसिङ र डिजाइन हेर्ने तथा सिक्ने ऐतिहासिक मौका पाउँछन् । आफूले सिकेका परम्परागत सीपको संरक्षण गर्दै आफ्नो उत्पादनलाई कसरी आधुनिक बजार सुहाउँदो बनाएर बजारीकरण गर्ने भन्ने अवसर उनीहरूले पाउनेछन् ।
मेलामा अवलोकनकर्ताको सहभागिता र आर्थिक कारोबार
हस्तकला मेला जेठ ८ गतेदेखि ३ दिनसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ । मेलामा आम सर्वसाधारणका लागि प्रवेश पूर्णरूपमा निःशुल्क गरिएको छ । यसवर्षको यो मेलामा ३० देखि ४० हजार सर्वसाधारणले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । आर्थिक कारोबारको हिसाबले मेला अवधिभर करिब ६० लाखदेखि १ करोड रुपैयाँसम्मको हस्तकला र मौलिक परिकारहरूको कारोबार हुन्छ भन्ने अनुमान गरिएको छ ।
विगतका मेलाहरूभन्दा यस पटक मेलामा हुने नयाँपन
यसपटकको मेला साँच्चिकै विशेष र फरक हुनेछ । यसमा मेक इन नेपाल र मेड इन नेपालको मूल अवधारणालाई आत्मसाथ गरिएको छ । मेलामा हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तु तथा सेवा प्रदर्शनका लागि करिब ७० वटा जति आकर्षक स्टलहरू रहनेछन् । यो केवल व्यापारिक मेला मात्र होइन, यहाँ स्थानीय उद्योगी र कालिगढहरूले प्रत्यक्ष रूपमा आफ्नो सीप प्रदर्शन गर्नेछन् । साथै, विविध साँस्कृतिक कार्यक्रमहरूको प्रस्तुति र स्थानीय उत्पादनका साथै परम्परागत परिकारहरूको स्वाद पस्कने व्यवस्था मिलाइएकाले अवलोकनकर्ताले एउटै ठाउँमा नेपालको सिंगो कला, संस्कृति र स्वादको उत्सव अनुभव गर्न पाउनेछन्, जुन विगतका मेलाहरू भन्दा विल्कुलै नयाँ पन हो ।
मेलालाई सफल बनाउन सहकार्य गरिरहेका संघ संस्थाहरु
मेलालाई भव्यरूपमा सम्पन्न गर्न धेरै प्रतिष्ठित संस्थाहरूले साथ दिएका छन् । प्रचार प्रसारका लागि डिजिटल माध्यम, सामाजिक सञ्जाल र प्रत्यक्ष पत्राचारको व्यापक प्रयोग गरिएको छ । साझेदार संस्थाहरूमा प्रमोटेड पार्टनरका रूपमा हेल्भेटास नेपाल, लजिष्टिक पार्टनरमा एभरेष्ट डि कार्गो, ट्राभल पार्टनरमा लक्की ट्राभल, प्रिन्टिङ्ग पार्टनरमा विजय अफसेट, इन्स्योरेन्स पार्टनरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र मिडिया पार्टनरको रूपमा अभियान आर्थिक राष्ट्रिय दैनिक रहेका छन् । त्यसैगरी सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, एनएमवि बैंकसमेत रहेका छन् । मेलाको सम्पूर्ण व्यवस्थापनको जिम्मा इभेन्ट म्यानेजरको रूपमा इभेन्ट संसार डटकमले सम्हालिरहेको छ ।
अन्त्यमा,
नेपाली हस्तकला हाम्रो पहिचान र स्वाभिमान हो । हाम्रै देशका कालिगढहरूको रगत र पसिनाले बनेका मौलिक उत्पादनहरूलाई माया गर्नु र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । यही जेठ ८ देखि १० गतेसम्म बालुवाटारको अम्रपाली बेन्कुवेटमा आयोजना हुने यस ऐतिहासिक मेलामा सम्पूर्ण कला, संस्कृति र नेपाली उत्पादन प्रेमी महानुभावहरूलाई सभ्य उपस्थितिका लागि म हार्दिक निमन्त्रणा गर्दछु । प्रवेश निःशुल्क छ, अवश्य आएर नेपाली कालिगढहरूको सीपको हौसला बढाइ हस्तकला क्षेत्रको विकासमा सहयोग गरिदिनुहुन सबैसमक्ष विनम्र अनुरोध गर्दछु ।





















