काठमाडौं । इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल) द्वारा आयोजना तथा मिडिया स्पेस सोलुसन्सको सह–आयोजनामा आगामी मे २२, २०२६ मा द प्लाजा, पुल्चोकमा आईडिया एक्सिलेन्स अवार्ड २०२६ को दोस्रो संस्करण आयोजना हुँदैछ। नेपालको इन्टेरियर डिजाइन क्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रम आईडिया एक्सिलेन्स अवार्ड २०२६ का लागि निटको नेपाल टाइटल स्पोन्सरको रूपमा जोडिएको छ। साथै, बेनकार्डों ग्यालेरिया तथा लुम्बिनी सिरामिक्स लिमिटेड (लामिनार टाइल्स) सह–प्रायोजकको रूपमा कार्यक्रममा सहभागी भएका छन्।
यसैगरी, कार्यक्रमको बैंकिङ पार्टनरका रूपमा ग्लोबल आइएमई बैंक पनि आधिकारिक रूपमा आबद्ध भएको आयोजकले जनाएको छ।
नेपालमा इन्टेरियर डिजाइन क्षेत्रको उत्कृष्टता, सिर्जनशीलता, नवप्रवर्तन तथा व्यावसायिक योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा देशभरका प्रोफेशनल इन्टेरियर डिजाइनर, डिजाइन विद्यार्थी, डिजाइन फर्म, ब्रान्ड प्रतिनिधि तथा सम्बन्धित व्यवसायिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार निटको नेपाल, बेनकार्डी ग्यालेरिया, लामिनार टाइल्स तथा ग्लोबल आइएमई बैंक जस्ता प्रतिष्ठित संस्थाहरूको सहकार्यले कार्यक्रमलाई अझ व्यावसायिक, प्रभावकारी तथा भव्य बनाउने विश्वास गरिएको छ। साथै, यस्ता संस्थाहरूको सहभागिताले नेपालको इन्टेरियर डिजाइन उद्योग, निर्माण सामग्री क्षेत्र तथा व्यवसायिक नेटवर्क विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रममार्फत स्पोन्सर तथा पार्टनर ब्रान्डहरूले प्रत्यक्षरूपमा नेपालभरका इन्टेरियर डिजाइनर तथा डिजाइन कम्युनिटीसँग नेटवर्क विस्तार गर्ने, आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्ने, ब्रान्ड भिजिबिलिटी बढाउने तथा दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण गर्ने अवसर प्राप्त गर्नेछन्।
त्यसैगरी, इन्टेरियर डिजाइन क्षेत्रमा कार्यरत प्रोफेशनल तथा विद्यार्थीहरूले उद्योगसँग नजिकबाट जोडिने, नयाँ सामग्री तथा प्रविधिबारे जानकारी प्राप्त गर्ने, आफ्नो प्रतिभा प्रस्तुत गर्ने तथा राष्ट्रिय स्तरको प्लेटफर्ममार्फत पहिचान स्थापित गर्ने अवसर पाउनेछन्।
आयोजकले अझै पनि कार्यक्रमसँग सहकार्य गर्न इच्छुक विभिन्न ब्रान्ड, कम्पनी तथा भेन्डरहरूलाई स्पोन्सर तथा पार्टनरको रूपमा जोडिन खुला निमन्त्रणा दिएको जनाएको छ। कार्यक्रममा सहकार्य गर्न चाहने इच्छुक भेन्डर तथा व्यवसायिक संस्थाहरूलाई आयोजकसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
आयोजकले यस्तो सहकार्यले नेपालमा इन्टेरियर डिजाइन क्षेत्रलाई थप संगठित, व्यावसायिक र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





















