मुस्ताङ । पत्र नै नक्कली देखाएर कोरला नाकाबाट तस्करी हुने खुलेको छ । गत जेठ १ गते शुक्रबार राति अन्दाजी ११ बजे नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर लुकाइछिपाइ लैजान खोजिएको १ लाख १८ थान अवैध ‘भेप’ (विद्युतीय चुरोट) बोकेको दुई कन्टेनरसहित चालक र सहयोगीलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएसँगै यो विषय उजागर भएको हो ।
उपल्लो मुस्ताङबासीको प्रमुख ‘तिजी’ पर्वको मौका छोपी लोमन्थाङ गाउँपालिका –२, एक्लेभट्टीबाट ना ६ ख ४७४३ का चालक धादिङ घर भएका सन्तोष लामा, ना ५ ख ७९२१ कन्टेनरका चालक नुवाकोटका फुन्चु दोर्जे तामाङ र सहयोगी पासाङ शेर्पालाई ठूलो परिमाणको विद्युतीय चुरोटसहित महँगो जुत्ता ५ हजार ३७ थान, मोजासहित कपडा बरामद गरिएको छ । सोही अवैध विद्युतीय चुरोटको ढुवानीमा संलग्न भएको आशंकामा तल्लो मुस्ताङको थासाङ गाउँपालिकाको लेतेबाट स्कर्पियोमा सवार रविन्द्र दर्नाल र चालक दिपेश गडाललाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयबाट विद्युतीय चुरोटसहित कन्टेनरका चालक र सहयोगीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।





















