भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन् । नतिजाको विश्लेषण गर्दा सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ । त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन् । २.८० देखि ३.२० जीपीएः ९४,२२२ जना, २.४० देखि २.८० जीपीएः ५५,९७७ जना, २.०० देखि २.४० जीपीएः ५,१९० जना, १.६० देखि २.०० जीपीएः ७ जना, १ लाख ४६ हजारको ’एनजी’ः विद्यार्थीले प्राप्त गरेका छन् ।
एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ ।





















