काठमाडौं । नेपालको लघु, घरेलु तथा साना उद्योग(एसएमइज)को विकासका लागि सरकारी झन्झट हटाई कच्चापदार्थको उचित व्यवस्थापन र बजार सुनिश्चितता गर्न व्यवसायीहरुले माग गरेका छन् । काठमाडौंमा घरेलु तथा साना उद्योग संघ काठमाडौंद्वारा आयोजित घरेलु तथा साना उद्योगी सरोकारवाला संवाद कार्यक्रममा व्यवसायीले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानेले घरेलु उद्योगहरुलाई आवश्यकता पर्ने कच्चा पदार्थको सहज उपलब्धता गराउन सरकारसँग माग गरे । उनले कर्मचारीतन्त्रको झन्झटले व्यवसायीहरु हैरान भइसकेको भन्दै यसलाई उचित कदम चलाएर हटाउन सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै व्यवसायी रामशरण थपलियाले दर्ता लगायत प्रक्रियामा सरकारी निकायबाट सहजिकरण हुनुपर्ने माग गरे । उनले पनि अनेक कानुनी झन्झट हटाउनुपर्ने भन्दै निर्यात उद्योगहरुलाई इन्सेन्टिभ दिएर प्रोत्साहन गर्नुपर्ने भनाइ राखे ।
कार्यक्रममा काठमाडौं संघकी अध्यक्ष डोल्मा शेर्पासहित उपस्थित धेरै व्यवसायीहरुले केही महँगो परेपनि नेपाली उत्पादनको उपयोगमार्फत बजार विस्तारमा सरकारको ध्यानाकर्षण गराए । उनीहरुले भने, ‘राष्ट्रिय भावना जगाएर नेपाली उत्पादनको प्रयोगसँगै उद्योगलाई बचाउने नीति लिनुपर्दछ । यसका लागि सम्भव भएसम्म नेपाली घरेलु उत्पादन किन्न सरकारले अनिवार्य गर्नु पर्दछ । ठूला मलहरुमा पनि निश्चित प्रतिशत घरेलु उत्पादन राख्ने व्यवस्था मिलाउनुपर्दछ । जब बजार विस्तार हुन्छ तब घरेलु उद्योग फस्टाउन सक्दछ । घरेलु तथा साना उद्योगको विकास भएमा देशको दिगो विकास हुन्छ भन्नेतर्फ सबैले सोच्नुपर्दछ ।’

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरुङले दर्ता लगायतमा सहजिकरण र उद्यम प्रवर्द्धनमा सरकारले चासो दिएर नीति लिओस् भन्ने भनाइ राखिन् ।
त्यस्तै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले प्रत्येक पालिकाहरुले घरेलु उत्पादन पालिकामै खपत गर्ने नीति लिनुपर्ने भनाइ राखे । उनले क्यासलेस, फेसलेस र पेपरलेसमा अब जानैपर्ने भनाइ राख्दै ठूला महलहरुमा स्थानीय उत्पादन राख्नैपर्ने व्यवस्था कानुनतः गर्नु पर्ने धारणा राखे ।
कार्यक्रममा उद्योग वाणिज्य कार्यालयका प्रमुख श्रीकृष्ण आचार्यले दर्तादेखि धेरै प्रक्रियामा सहजता दिंदै गइएको दाबी गरे । उनले विचौलियासँग सावधान हुन व्यवसायीलाई सचेत गराउँदै कार्यालयले दिएको तालिमको प्रभावकारिता न्यून देखिएको बताए । तालिम लिएपछि त्यसको सदुपयोग होस् भन्नेमा आफूहरु रहेको भन्दै उनले साना उद्यमीहरुलाई तालिम आवश्यक परेमा आगामी आर्थिक वर्षको सुरू साउन लागेपछि कार्यालयसँग माग गर्न अनुरोध गरे ।
यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले दिगो विकासका लागि एसएमइजको योगदान महत्वपूर्ण रहेको धारणा राखे । जिडिपीमा २० देखि २२ प्रतिशतको योगदान यस क्षेत्रको रहेको र सवा ९ लाख प्रतिष्ठानमार्फत करिब ३५ लाखलाई रोजगारी उपलब्ध गराइरहेको यो क्षेत्र सरकारी प्राथमिकतामा रहेको उनले बताए । खरेलले नयाँ केही विषय आउनासाथ एसोसिएसनले सबैलाई अपडेट गराउनु पर्ने सुझाव दिँदै आगामी आर्थिक वर्षको बजेटमा तीन तहको सरकारबीच समन्वय गरेर सहजता प्रदान गर्नेसम्बन्धी छलफल भइरहेको उनले जानकारी दिए ।






















