ढाका । आइएचआई फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । बङ्गलादेशको राजधानी ढाकामा आयोजित कार्यक्रममा बङ्गलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनको प्रमुख आतिथ्यतामा अवार्ड वितरण गरिएको थियो। कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, ‘दि न्यू नेसन’ का प्रबन्ध सम्पादक अर्शाद होसैन, बङ्गलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका महासचिव कादेर गोनी चौधरी, बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनका अध्यक्ष एकेएम मोहसिन लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा सहभागी नेपाली टोलीका सदस्यहरू वरिष्ठ उपाध्यक्ष लेखबहादुर सागर, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्य मुकुन्द कालिकोटे, अनुप प्रधान, हरिस सिंह नगाल, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा, साधारण सदस्य रामशरण महर्जन र अजय लगायत रहेका थिए ।
उक्त अवसरमा बङ्गलादेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २७ जना उत्कृष्ट फोटोपत्रकारहरूलाई समेत अवार्ड प्रदान गरिएको थियो ।
नेपाल–बङ्गलादेशबीचको २१ वर्षे मित्रता, “ब्यूटीफुल नेपाल” फोटो प्रदर्शनी तथा फोटोपत्रकारिता सम्बन्धी सेमिनारमा सहभागिता जनाउन पुगेका नेपाली टोलीको सम्मानस्वरूप बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसन र अवार्ड सम्मान समितिद्वारा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमले दुई देशबीचको पत्रकारिता सहकार्य, अनुभव आदान–प्रदान तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।






















