काठमाडौं । पर्वतारोहणका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुब्ली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा ‘प्लाटिनम जुब्ली’ मनाउने भएको हो ।
नेपाल पर्यटन बोर्डमा बुधबार पत्रकार सम्मेलन गरी नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ विशेष कार्यक्रम मनाउन लागिएको जानकारी दिइएको हो । सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो । मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए भने ल्होत्से हिमाल स्वीस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले प्लाटिनम जुब्लीलाई नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए । उनका अनुसार जुब्ली कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा मनास्लु हिमालको थ्रीडी मोडेल उद्घाटन गरिने जानकारी दिए ।
पत्रकार सम्मेलनमा संघका द्धित्तीय उपाध्यक्ष बोधराज भण्डारीले प्लाटिनम जुब्लीका अवसरमा अग्रज पर्वतारोही तथा उनीहरूको परिवारलाई विशेष सम्मान गरिने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यो कार्यक्रम पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष रूपमा जोडिएको धारणा राखे ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिलो आरोहीहरूको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ, जसलाई ‘मनास्लु डे’ का अवसरमा अनावरण गरिने बताए ।
मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरमा साहसिक पर्यटनसँगै सांस्कृतिक पर्यटनलाई पनि प्रवद्र्धन गरिने लक्ष्य लिइएको छ ।





















