काठमाडौँ । आज देशका विभिन्न स्थानमा पानी र चट्याङ पर्ने सम्भावना रहेको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरको आकाश बादलले ढाकेको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज तातो दिन हुने सम्भावना रहेको छ ।
आज राति देशका हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम विभागले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।






















