Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। भानुभक्त मेमोरियल पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच तीन जना बालिकालाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा औपचारिक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार पानीपोखरीस्थित भानुभक्त मेमोरियल माध्यमिक विद्यालयमा अध्ययन गर्ने ती बालिकाहरूलाई कक्षा १२ सम्म पठनपाठन, विद्यालय पोशाक, यातायात सुविधा तथा दिवा खाजाको व्यवस्था गरिनेछ।

सम्झौता कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष राजेश काजी श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा छात्रवृत्ति समितिका संयोजक विद्या सागर तुलाधर तथा नेपाल बाल संगठनका अध्यक्ष बिद्या उपाध्याय न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरिन्। कार्यक्रममा उपसंयोजक विश्वास खतिवडा, सदस्यहरू अमित दुवा र सन्तोष गजुरेल, तथा बाल संगठनका निमित्त कार्यकारी प्रमुख सबिता लम्सालको पनि उपस्थिति रहेको थियो। साथै, पूर्व शिक्षक समाजको तर्फबाट मन्दार बनर्जीको सहभागिता रहेको थियो।

यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत पूर्व विद्यार्थी समाजका सदस्यद्वय आशीष गौतम क्षेत्री र शंकर पोखरेलको सहयोगमा दुई जना बालिकाको सम्पूर्ण शैक्षिक व्यवस्थापन कक्षा १२ सम्म गरिने व्यवस्था गरिएको जनाइएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष राजेश काजी श्रेष्ठले शिक्षा सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै भने,
“हामीले सुरु गरेको यो छात्रवृत्ति कार्यक्रम केवल सहयोग मात्र होइन, भविष्य निर्माणको अभियान हो। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो लक्ष्य हो। आगामी दिनमा यसलाई अझ विस्तार गर्दै थप विद्यार्थीलाई समेट्ने योजना हाम्रो छ।”

उनले विभिन्न क्षेत्रका पूर्व विद्यार्थीहरूलाई पनि सामाजिक उत्तरदायित्वमा जोडिँदै यस्ता अभियानमा साथ दिन आग्रह गरे।

Health Tips Ad Road Block