Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

लमजुङ । ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो पुरक प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना बेसीशहर नगरपालिका वडा नं. ६ र १० तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ अन्तर्गत मर्स्याङ्दी नदीमा निर्माणाधीन रहेको छ। आइतबार मर्स्याङ्दी गाउँपालिका–८, सिमलचौरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख अतिथिका रूपमा, बेसीशहर नगरपालिकाका नगरप्रमुख, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरू, दुवै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामुदायिक वनका प्रतिनिधिहरू, आयोजनाका प्राविधिक टोली तथा स्थानीय दाजुभाइ–दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा केही व्यक्तिहरूले विरोध जनाउँदै कार्यक्रम अवरुद्ध गर्न खोजे पनि स्थानीय समुदायको सकारात्मक भूमिकाका कारण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक मिलन खड्काले जलविद्युत विकासमार्फत देशको समृद्धि सम्भव रहेको उल्लेख गर्दै केही नकारात्मक तत्वहरूले व्यक्तिगत स्वार्थका लागि विकास अवरुद्ध गर्न खोजेको आरोप लगाए। उनले भने, “विकास विरोधी यस्ता तत्वहरूको अवरोधले विकास रोकिने छैन। यो आयोजना यस क्षेत्रको भाग्य र भविष्यसँग जोडिएको छ। यो आयोजना जसरी पनि बन्छ, बनेरै छाड्नेछ।”

उनले थप्दै कम्पनीको अनुभव र विश्वसनीयता प्रस्तुत गर्दै दिव्यज्योती हाइड्रोपावर लिमिटेडको मुख्य प्रवर्द्धक अपि पावर कम्पनी लिमिटेड रहेको जानकारी दिए। अपी पावर र यसको समूहले नेपालभरि दर्जनौँ जलविद्युत तथा सौर्य ऊर्जा आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको र यो कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत एक प्रतिष्ठित कम्पनी रहेको उनले बताए। साथै, निकट भविष्यमै दिव्यज्योती हाइड्रोपावरलाई पनि सूचीकृत गरी सर्वसाधारण तथा विशेषगरी स्थानीयवासीलाई सेयरधनी बनाउने लक्ष्य रहेको जानकारी गराइयो।

उक्त आयोजना करिब १० अर्ब रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको छ। २०७४ असोज १ गते वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको र २०७५ भदौ १० गते विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। आयोजनाबाट करिब साढे दुई वर्षभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

हाल आयोजनाले निर्माण कार्य अघि बढाइसकेको जनाएको छ।

Health Tips Ad Road Block