काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले संस्थागत संरचना कमजोर भएकै कारणले नेपाल आर्थिक विकासमा पछाडि परेको बताएका छन्। आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आर्थिक पत्रकारहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रममा भविष्यको आँकलन गर्ने क्षमता कमजोर भएको र बनेका योजनाको कार्यान्वयन पाटो पनि कमजोर भएकोले समस्या देखिएको भन्दै उनले अब पनि नविन प्रविधि प्रयोग गर्न नसके देश अझै पनि पछाडि नै परिरहने उनको जिकिर छ ।
उनले जनताको मनोबल कमजोर भएको अवस्थामा सरकार नै अघि सरेर प्रतिफल आउने योजनामा खर्च गर्न अघि बढ्नु पर्ने बताए। त्यसको साथै निजी क्षेत्रलाई पनि प्रतिफल आउने योजनामा लगानी गर्नको लागि सरकारले प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । पछिल्लो समय कर्जाको माग नहुँदा बैंकहरुमा तरलता थुप्रीएको छ । अब सरकारले अग्रसर भएर खर्च गर्नुपर्ने उनले बताए ।
पौडेलले हरेक आर्थिक विषयलाई विभिन्न आधारमा छुट्टाएर विश्लेषण गरिनु पर्ने बताए। हरेक विषयले विभिन्न क्षेत्रमा पार्ने प्रभावको छुट्टाछुट्टै विश्लेषण गर्न सक्ने क्षमता आर्थिक पत्रकारमा हुनुपर्ने उनले बताए । यस्ता कार्यक्रमले यस्ता विषयवस्तुमा आर्थिक पत्रकारमा विश्लेषण गर्ने क्षमता बढाउन सहयोग पुग्ने उनको भनाई थियो।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्र बैंकका मानव संशाधन विभागका निर्देशक बुद्धराज शर्माले सबै आर्थिक पत्रकारले अर्थशास्त्रको अध्ययन गरेको नहुनेले उनीहरुको बैंकिङ विश्लेषण समबन्धी क्षमता विकास गर्नको लागि कार्यक्रम आयोजना गरेको जानकारी दिए । आर्थिक पत्रकारहरुको विश्लेषण क्षमता विकास गरेमा आम जनमानसमा बैंक र अर्थतन्त्र समबन्धी सहित समाचार बुझ्ने गरि प्रष्टसँग प्रवाह हुने विश्वास व्यक्त गरे। राष्ट्र बैंकले पाठ्यक्रम नै विकास गरेर पत्रकारहरुको क्षमता विकास गर्ने कार्यको थाले गरिएको बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) की अध्यक्ष मेनुका कार्कीले राष्ट्र बैंकको सहकार्यमा नाफिजले हरेक वर्ष आर्थिक पत्रहरुको लागि तालिम कार्यक्रम आयोजना गर्ने गरिएको उल्लेख गरिन् । विगतका तालिम कार्यक्रममा बैंकिङ क्षेत्रको मात्र पाठ्यक्रम समावेश गर्ने गरिएकोमा यसपाली बृहत अर्थशास्त्र र सुक्ष्म अर्थशास्त्रका विषय पनि समावेश गरिएको बताइन्। यसले आर्थिक पत्रकारलाई आर्थिक विषयवस्तुमा ज्ञानको दायरा बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
नाफिजमा आबद्द आर्थिक पत्रकारहरुको लागि वर्तमान आर्थिक तथा बैंकिङ मामिलासम्बन्धि अभिमुखीकरण कार्यक्रम बुधबारदेखि धुलिखेलमा सुरु भएको हो। अभिमुखीकरण कार्यक्रममा विभिन्न विषय विज्ञहरुबाट अर्थतन्त्र र बैंकिङ सम्बन्धि विषयका सत्रहरु संचालन हुनेछन् । कार्यक्रम आज सकिनेछ ।




















