काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियासँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन भएकोमा बधाई तथा शुभकामना दिदै कार्यकालको सफलताको कामना व्यक्त गरे । सोही क्रममा मुख्यमन्त्री बानियाले ५० बर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै नाडाको प्रसंशा गरे ।
छलफलको क्रममा उनले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा नै दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङ्ग लगायतका विभिन्न समस्याहरु रहेकोले यसको समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढनु पर्ने धारणा राखे । मुख्यमन्त्री बानियाले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनहरुका लागि ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाबीच सहकार्य गरेर अघि बढन सकिने धारणा राखे ।
छलफलकाक्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडा ७ वटा प्रदेश सहित २८८३ सदस्य कम्पनीहरु रहेको बताउँदै नेपालको अटोमोवाइल क्षेत्रमा १ खर्वभन्दा बढीको लगानी रहेको बताए । अध्यक्ष उप्रेतीले नेपालको अटोमोवाइल क्षेत्रमा वार्षिक ५००० जनशक्तिको आवश्यकता हुने जानकारी समेत दिए । अध्यक्ष उप्रेतीले नाडाले बागमती प्रदेश सरकारसँग कुन कुन क्षेत्रमा सहकार्य गरेर अघि बढन सकिन्छ त्यस विषयमा मोडालिटी तयारगरी पेश गरिने बताए ।
सोहि अवसरमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोवाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको, नाडाले शीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढन चाहेको धारणा राखे ।
छलफलका क्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल प्रविधि तिव्र गतिले परिवर्तन भईरहेकोले त्यहि स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दे जानुपर्ने चुनौती रहेको, नाडाले यसका लागि परिस्कृत पाठयक्रम समेत तयार गरिरहेको, आवश्यक तालिमका लागि संशाधनको अभाव मात्र होइन उस्तै ट्रेनरहरु समेतको खाँचो रहेको औल्याए ।
छलफलमा नाडाका संस्थागत उपाध्यक्षद्धय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्धय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य दिपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरी समेतको उपस्थिति रहेको थियो






















