Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संसद अधिवेशनको सम्पूर्ण तयारी पूरा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचन अन्तर्गत नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद अधिवेशन सञ्चालनका लागि सभा कक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद भवन तयार हुन नसकेपछि नयाँ संसद भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

संसद बैठक बस्ने मुख्य सभाकक्ष निर्माण हुन अझै समय लाग्ने भएकाले केही समयका लागि यो सभाकक्ष प्रयोग गर्न लागिएको हो । बहुउद्देश्यीय सभाकक्षमा अहिले कुर्सीको व्यवस्थापन सम्पन्न भइसकेको छ भने माइक, क्यामेरालगायत मिलाउने काम तीव्र गतिमा भइरहेको छ । सांसदको शपथ चैत १२ गते गराउने योजना अनुसार अस्थायीरूपमा नयाँ सभाकक्ष निर्माण गरिएको हो ।

२०६४ सालसम्म संसदको बैठक सिंहदरबारस्थित पुतली बगँैचामा रहेको भवनमा बस्दै आएको थियो । संविधान सभा सदस्यको सङ्ख्या बढेपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसदको बैठक बस्दै आएको थियो । जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटबाट नयाँ बानेश्वरस्थित संसद भवन पूर्णरूपमा क्षतिग्रस्त भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकको सभाकक्षको अभाव भएको हो । नयाँ बानेश्वरको भवनको भाडाबापत संसद सचिवालयले वार्षिक १० करोड ५८ लाख रुपैयाँ बुझाउँदै आएको छ ।

करिब पाँच अर्ब रुपैयाँ लागतमा सिंहदबारपरिसरमा संसद्को नयाँ भवन निर्माण भइरहेको छ । भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुण्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेको यो आयोजना तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । सम्झौता भएको छ वर्ष बितिसक्दासम्म पनि काम सम्पन्न हुन सकेको छैन । संसद भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत पुगेको छ ।

Health Tips Ad Road Block