skip this News Page Tips Ad Road Block

निष्क्रिय पुँजीलाई ठूला पूर्वाधार र उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने अर्थमन्त्रीको सुझाव

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । नागरिक लगानी कोषको ३६ औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैँकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले बुढीगण्डकी लगायत ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । यस्ता परियोजनामा लगानी गर्दा निष्क्रिय पुँजी उत्पादनशील बन्ने उनको दाबी छ ।

उनले आर्थिक सूचकमा सुधारका साथै उत्पादन र रोजगारी बढ्नसके मात्रै त्यसले देशलाई राम्रो गर्ने धारणा राखे । उनले कोषले लगानी गर्दा जोखिम व्यवस्थापनमा सचेत हुनुपर्ने पनि सुझाव दिए । त्यसका लागि दीर्घकालीन ऋणपत्र जारी गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले कोषले विभिन्न बचत योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिएका छन् । कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको लगानीलाई विविधीकरण गर्नुपर्ने आवश्यकमाथि प्रकाश पारे । सोहीअनुरुप संकलित रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्दै आएको कार्कीको भनाइ थियो । उनका अनुसार करिब आधा लगानी बैँक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको र ब्याजदरमा आएको गिरावटका कारण कोषको नाफामा पनि असर पर्नसक्ने उल्लेख गरे । कार्यकारी निर्देशक कार्कीले सरकारले प्राथमिकतामा राखेका पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा नेपाल बैँकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले दीर्घकालीन तथा सुरक्षित प्रतिफलका लागि कोषको लगानीलाई विविधीकरण गर्नुपर्ने भनाइ राखे । उनका अनुसार हाल बैंकिङ क्षेत्रमा करिब ७७ खर्ब निक्षेप सङ्कलन र करिब ५८ खर्ब कर्जा लगानी रहेको छ ।

Health Tips Ad Road Block