काठमाडाैं । प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले VISA सँगको सहकार्यमा तथा नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग परिसंघ र ठमेल पर्यटन विकास परिषदको समर्थनमा “क्रस–बोर्डर (XB) एक्सेप्टेन्स इन ठमेल” पहल अन्तर्गत आधाररेखा सर्वेक्षण (Baseline Survey) सुरु गरेको छ। यस उद्देश्यका लागि PATA नेपाल च्याप्टरले आफ्ना शैक्षिक सदस्य संस्थाहरूबाट ३० जना पर्यटन तथा आतिथ्य विद्यार्थीहरू सर्वेक्षण सञ्चालन गर्न संलग्न गराएका छन्।
नेपालको सबैभन्दा सक्रिय पर्यटन केन्द्रका रूपमा परिचित ठमेलले नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढीलाई आकर्षित गर्ने गर्दछ। यस क्षेत्रमा पर्यटन गतिविधि र कारोबारहरू महत्त्वपूर्ण भए तापनि धेरै साना तथा मझौला उद्यमहरू (एसएमई) ले अझै पनि डिजिटल भुक्तानी प्रणाली अपनाउने र सीमापार वाणिज्यमा भाग लिने चुनौतीहरूको सामना गरिरहेका छन्।
यस आधारभूत सर्वेक्षणमार्फत ठमेल क्षेत्रका व्यवसायहरूमा डिजिटल भुक्तानी प्रयोगको वर्तमान अवस्था, व्यापारीहरूको तयारी, चुनौतीहरू तथा आवस्यक ज्ञान र शीपको अन्तरसम्बन्धी जानकारी संकलन गरिनेछ। साथै हालसम्म अन्तर्राष्ट्रिय कार्ड भुक्तानी स्वीकार नगरेका व्यवसायीहरू पहिचान गरी आवश्यक समन्वयमार्फत उनीहरूलाई सम्बन्धित बैंकहरूसँग जोड्ने प्रयास पनि गरिनेछ।
भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सव्बिर अहमदले भने,“नेपालको पर्यटन इकोसिस्टमलाई सुदृढ बनाउने डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा भिसा प्रतिबद्ध छ। ठमेलमा क्रस–बोर्डर भुक्तानी स्वीकार्यता विस्तार हुँदा अन्तर्राष्ट्रिय पर्यटकका लागि कारोबार सहज हुने र स्थानीय साना तथा मझौला उद्यमहरूलाई नयाँ व्यवसायिक अवसरमा पहुँच मिल्नेछ। नेपाललाई थप डिजिटल रूपमा सक्षम पर्यटन अर्थतन्त्रतर्फ अग्रसर बनाउन नेपाल च्याप्टर र अन्य सरोकारवालासँग सहकार्य गर्न पाउँदा हामी गर्व गर्दछौं।”
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले भने, “ ठमेललाई एक नमुना गन्तव्यका रूपमा प्रश्तुत गर्दै पाटा नेपालमा हामी पर्यटन क्षेत्रका साना तथा मझौला उद्यमहरूलाई डिजिटल–केन्द्रित वैश्विक अर्थतन्त्रमा सफल बनाउन प्रतिबद्ध छौं र यस पहलमा सहकार्य र सहयोगका लागि हामी भिसा, पर्यटन बोर्ड, ठमेल पर्यटन बिकास परिषद र नेपाल उद्योग परिसंघ प्रति हार्दिक आभार व्यक्त गर्दछौं।”
यो पहल अन्तर्गत हस्तकला पसल, खुद्रा तथा कपडा पसल, ट्राभल तथा टुर अपरेटर, क्याफे, रेस्टुरेन्ट, होटल, स्पा तथा वेलनेस केन्द्र लगायतका पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसायहरूलाई समेटिनेछ। यसबाट डिजिटल भुक्तानीको प्रयोग प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि सेवाको अनुभव थप सहज र आधुनिक बनाउने लक्ष्य राखिएको छ।
परियोजनाअन्तर्गत आगामी चरणहरूमा प्रशिक्षण कार्यक्रम, व्यापारी अन्तरक्रिया तथा क्षमता अभिवृद्धि गतिविधिहरू सञ्चालन गरिनेछन्। यस पहलमार्फत ठमेलमा विकसित हुने डिजिटल रूपान्तरणको अभ्यासलाई भविष्यमा नेपालका अन्य प्रमुख पर्यटन गन्तव्यहरूमा पनि विस्तार गर्न सकिने नमूना मोडलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।




















