काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई सर्वोच्च अदालतले २०८१ भदौ ५ गते विभिन्न दुईओटा मुद्दामा ६ वर्ष कैद र रु २२ करोड भन्दा बढी जरिवाना तोकेको थियो । श्रेष्ठलाई दुईओटा मुद्दामा क्रमशः रु.१९ करोड ४६ लाख १ हजार ६ सय ६२ रुपैयाँ ३९ पैसा जरिवाना र तीन वर्ष कैद र .३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रुपैयाँ ५१ पैसा जरिबाना र तीन वर्ष कैदको फैसला भएको थियो ।
उनलाई सिआइबीको टोलीले काठमाडौँको नागर्जुन नगरपालिका वडा नं. ५ सितापाईलाबाट आइतबार पक्राउ गरेको हो । त्यसपछि उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक एवं
प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको कार्यकारी अध्यक्ष रहँदा अनियमित एवं गैरकानुनी तरिकाले निक्षेपकर्ता एवं संस्थाको हित विपरीत हुने कार्य गरी बैङ्किङ कसूरमा संलग्न रहेको मुद्दामा सर्वोच्च अदालतले श्रेष्ठ विरुद्ध फैसला सुनाएको थियो ।





















