काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गते आइतबारदेखि निष्काशन गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये ९ लाख ८० हजार कित्ता साधारण आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि, २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि र १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा कम्पनीका कर्मचारीहरुका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँबराबरको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।






















