काठमाडौँ । टि–२० विश्वकप अन्तर्गत छिमेकी देश भारत फेरि विश्व च्याम्पियन बनेको छ । उसले घरेलु मैदानमै टि–२० विश्वकप जितेको हो । अहिलेसम्म घरेलु मैदानमा टि–२० विश्वकप जितेको रेकर्ड थिएन ।
आइतबार न्यूजिल्याण्ड र भारतबीच भएको खेलमा ९६ रनले भारतले जित निकालेको हो । योसँगै भारतले लगातार दोस्रो पटक उपाधि हात पारेको छ । हालसम्म भारतले ३ जित निकालिसकेको छ ।
सन् २००७ मा टि–२० विश्वकपको पहिलो संस्करणमै विजेता बनेपछि सन् २०२४ मा दक्षिण अफ्रिकालाई हराएर भारतले दोस्रो पटक टि–२० विश्वकप विजेता बनेको थियो । न्यूजिल्याण्डको पहिलो पटक च्याम्पियन बन्ने चाहना भने पुरा हुन सकेन । यसअघि सन् २०२१ मा न्यूजिल्याण्ड अस्ट्रेलियासँग पराजित बनेको थियो ।
आइतबार सम्पन्न फाइनल खेलमा न्यूजिल्याण्डका कप्तान मिचेल सान्तनरले ब्याटिङको निम्तो दिए । त्यसपछि भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २५५ रनको विशाल स्कोर बनायो । भारतले पहिलो पावर प्ले सकिँदा बिना विकेटको क्षतिमा ९२ रन बनाएको थियो । अन्तिमतिर भने भारतलाई न्यूजिल्याण्डले निराशजस्तै बनाएको थियो । जिमी निसमले १६ औँ एकै ओभरमा तीन विकेट लिएपछि भारतले रन लिने स्थितिमा सुस्तता आयो । त्यस ओभरमा निसमले ओपनर ब्याट्सम्यान सञ्जु सामसन, इशान किसन र कप्तान सूर्यकुमार यादव (०) लाई पभेलियन फर्काए । सामसन र किसनले क्रमशः ८९ र ५४ रन बटुलिसकेका थिए । सामसनले ४६ बलको सामना गरी पाँच चौका र आठ छक्का तथा किसनले २५ बल खेलेर चार चौका र चार छक्का प्रहार गरेका थिए । सञ्जु प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बने । उनी सर्वाधिक रनकर्ताको सूची पाकिस्तानका साहिबजादा फरहान र न्युजिल्यान्डका टिम सिफर्टपछि तेस्रो स्थानमा रहे ।
सञ्जुसँगै सुरुमै क्रिजमा आएका अभिषेक शर्माले पनि २१ बलमा ५२ रन बनाए । अभिषेकले तीन छक्का र छ चौका हानेका थिए । त्यस्तै शिभम दुवेले पनि आठ बलमा अविजित २६ रन बनाएका थिए ।
न्यूजिल्याण्डले जवाफी ब्याटिङ गर्दा एक ओभर बाँकी छँदै १५९ रनमा अलआउट भयो । तेज बलर जस्प्रित बुमराहले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट लिएपछि न्युजिल्यान्ड कुनै पनि समय लक्ष्य पछ्याउने स्थितिमा देखिएन । स्पीनर अक्सर पटेलले तीन विकेट लिए । न्यूजिल्याण्डका लागि ओपनर ब्याट्सम्यान सिफर्ट र कप्तान सान्तनरले राम्रो खेलेका थिए । सिफर्टले २६ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर ५२ रन बनाए । सान्तनरले ४३ रन जोडे । यी दुईबाहेक डेरिल मिचेल (१७ रन) ले मात्र दोहोरो अङ्कमा रन बनाए ।
शानदार बलिङपछि बुमराह प्लेअर अफ दी म्याच बने । बुमराह फाइनलमा चार विकेट लिएर सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्षस्थानमा उक्लिए । बुमराह र भारतकै स्पीनर वरुण चक्रवतीले सर्वाधिक १४–१४ विकेट लिएका थिए । पाकिस्तानका साहिबजाद फरहान शीर्ष रनकर्ता बने । उनले सर्वाधिक ३८३ रन बनाएका थिए ।
च्याम्पियन बनेको भारतले ट्रफीसहित ३० लाख अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेता न्यूजिल्याण्डले १६ लाख अमेरिकी डलर प्राप्त गर्यो । यसैगरी आइसिसीले समूह चरणबाट बिदा हुने टिमलाई प्रदान गरिने दुई लाख ५० हजार अमेरिकी डलर नेपालले पनि प्राप्त गरेको थियो ।
तस्विरः ICC T20 World Cup बाट





















