काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले दिएको २०, २१ र २२ गतेको सार्वजनिक बिदाका समयमा पनि बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको हो ।
राष्ट्र बैंकले भनेको छ, ‘निर्वाचन आयोग नेपालको पत्रबाट प्रतिनिधि सभा सदस्य आमनिर्वाचनलाई मध्यनजर गरी वित्तीय सेवा सुचारु/सञ्चालन गरिदिन यस बैंकलाई अनुरोध भएबमोजिम सम्वत् २०८२ साल फागुन २१ गते बिहीबारका दिन हुने प्रतिनिधि सभा सदस्य आमनिर्वाचनका सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) द्वारा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा भएको तथा २०८२ फागुन १८ गते हिमाली र पहाडी जिल्ला लगायतका ५६ जिल्लामा तथा २०८२ फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्व फागु पूर्णिमाको सार्वजनिक बिदा हुने भएकाले उक्त सार्वजानिक विदा अवधिमा देहायवमोजिम बैंकिङ सेवा प्रवाह/सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ ।
क. सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्धारा भुक्तानी व्यवस्था र राजस्व दाखिला,
ख. निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्धारा राजनीतिक दल तथा उम्मेदवारहरुको नगद वा चेक वा अन्य विनिमेय साधनहरुको दाखिला, भुक्तानी लगायतका बैंकिङ सेवाहरु ।’





















