Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पश्चिम नवलपरासीको एक स्वरः विनोद चौधरी उम्मेदवार पाउनु गर्वको विषय

Citizenlife ad 2082 falgun to baishak 2083

बर्दघाट, पश्चिम नवलपरासी । बर्दघाटमा आयोजित नेपाली कांग्रेसको कोण सभामा वक्ताहरूले पश्चिम नवलपरासीको साझा धारणा व्यक्त गर्दै “विनोद चौधरी उम्मेदवार पाउनु गर्वको विषय हो” भन्ने उद्घोष गरेका छन्। आज सभामा बोल्ने अधिकांश नेताहरूले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विनोद चौधरीको जित सुनिश्चित भएको दाबी गरे।

हालै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका रास्वपाका नवलपरासी जिल्ला अध्यक्ष महेन्द्र सेन ठकुरीले विनोद चौधरी राष्ट्रकै गहना भएको उल्लेख गर्दै यस्तो व्यक्तित्व पश्चिम नवलपरासीले उम्मेदवारका रूपमा पाउनु आफैंमा गर्वको विषय भएको बताए। उनले विनोद चौधरीको जित सुनिश्चित भइसकेको दाबी गर्दै जनताले विकास, स्थायित्व र दूरदृष्टिलाई रोज्ने विश्वास व्यक्त गरे।

ठकुरीले रास्वपा अवसरवादीहरूले भरिएको पार्टी भएको आरोप लगाउँदै विक्रम खनालजस्ता अवसरवादी व्यक्तिलाई टिकट दिइएको टिप्पणी गरे। “जनताले भावनामा होइन, विवेकमा आधारित निर्णय गर्नुपर्छ,” उनले भने, “त्यसैले आम मतदाताले आफ्नो विवेक प्रयोग गरी विनोद चौधरी तथा कांग्रेसलाई विजयी बनाउनुहुनेछ भन्नेमा म विश्वस्त छु।”

प्रदेश सांसद विश्वप्रेम पाठकले विनोद चौधरीको नवलपरासीसम्बन्धी दृष्टिकोण स्पष्ट र व्यावहारिक रहेको बताए। उनका अनुसार औद्योगिकीकरण, पूर्वाधार विकास, उद्यमशीलताको प्रवर्द्धन र रोजगारी सिर्जना नै क्षेत्रको समृद्धिको मूल आधार हुन्। “उहाँको योजनामा उद्योग विस्तार, सडक तथा पुलजस्ता पूर्वाधार सुदृढीकरण र युवालाई उद्यमतर्फ आकर्षित गर्ने स्पष्ट खाका छ,” पाठकले भने, “नवलपरासीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने उहाँको सोच समयानुकूल र आवश्यक छ।”

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले विनोद चौधरीले सांसदको तीन वर्षे कार्यकालमै नवलपरासीमा उल्लेखनीय काम गरेको दाबी गरे। “सीमित समयमा स्वास्थ्य, शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रमा देखिने काम भएको छ,” उनले भने, “अब पूर्ण पाँच वर्षको अवसर पाएमा अझ ठूला र दीर्घकालीन योजना कार्यान्वयन हुनेछन्।” उनले मतदातालाई निरन्तरताका लागि मतदान गर्न आग्रह गरे।

बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले विनोद चौधरीलाई दूरदृष्टि र विशेषज्ञताको संयोजनका रूपमा चित्रण गरे। “उहाँको नेतृत्वमा पश्चिम नवलपरासीको स्वास्थ्य सेवा विस्तार, शैक्षिक पूर्वाधार सुधार र सडक स्तरोन्नतिमा उल्लेखनीय प्रगति भएको छ,” उनले भने, “यस्तो उम्मेदवार पाउनु यस क्षेत्रका मतदाताका लागि सौभाग्यको विषय हो।”

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले विनोद चौधरीले नेपाली कांग्रेसलाई सुदृढ र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। “उहाँसँग नवलपरासीलाई समुन्नत बनाउने स्पष्ट योजना छ,” श्रेष्ठले भने, “सही नेतृत्व र योजनासहित नवलपरासीलाई नमूना क्षेत्रका रूपमा विकास गर्न सक्ने क्षमता उहाँमा छ।”

कोण सभामा सहभागी नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा कांग्रेसलाई एकताबद्ध भएर विजय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Health Tips Ad Road Block