काठमाडौं । सर्वसाधारणका लागि होटल फरेष्ट इन लिमिटेडले माघ २२ गते बिहीबारदेखि निष्काशन गरेको साधारण शेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले ३३ करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको हो । होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमा ४ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अिहले भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ३३ करोड २० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गरिरहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट यस आईपीओमा आवेदन दिन सक्नेछन् ।





















