काठमाडौँ । क्रिकेटको महाकुम्भ टी-२० विश्वकप आजदेखि शुरु हुँदैछ । संयुक्तरुपमा भारत र श्रीलङ्कामा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले तेस्रो पटक सहभागिता जनाउँदैछ ।
विश्वकपका कारण अब नेपालको पोलिटिकल गरमागरम क्रिकेटतर्फ डाइभर्ट हुने देखिन्छ ।
२० टिम सहभागी यस विश्वकप एक महिनासम्म चल्नेछ । कुल ५५ खेल खेलिनेछ । सहभागी पाँच टिमहरुलाई खेल तालिका अनुसार चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । त्यसपछि फागुन २४ गते विश्वकप ट्रफीको निर्णय हुनेछ ।
यसक्रममा नेपाल चार महिनाअघि ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा च्याम्पियन भएर यसपटक तेस्रो विश्वकपमा सहभागिता जनाउँदै छ । नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।
नेपाल रोहितकुमार पौडेलको कप्तानीमा विश्वकपमा सहभागी भएको छ । नेपालले समूह चरणका चारै खेल मुम्बईमा खेल्नेछ । नेपाल रहेको समूहमा दुईपटकको विजेता इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड समावेश छन् ।
विश्वकपको पहिलो खेलमा आज पाकिस्तान र नेदरल्यान्डबीच बिहान सवा ११ बजे खेल हुँदैछ । त्यसपछि आजै वेस्ट इन्डिज र स्कटल्यान्ड तथा भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।






















