काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि सात विकेटको जित निकालेको छ । नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै नटआउट अर्धशतक बनाए । दीपेन्द्रले ३१ बलमा ५० रन बनाए भने आरिफले ३७ बलमा ६१ रन बनाए । १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा १४८ रन बनायो ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो । युएईका लागि सोएब खानले ३८ रन, हर्सिद कौशिकले ३५, आर्सन शर्मा २५, मोहमद जोएब १९ र अलिशान सरफुले १२ रन बनाएका थिए ।
बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेपालले आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल बिहिबार क्यानाडासँग खेल्नेछ ।






















