काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने मतपत्रको छपाइ शुरु भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार नै छपाइ मेसिनको स्वीच अन गरेर मतपत्र छपाइ शुभारम्भ गरेका हुन् ।
जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने आयोगले जनाएको छ । समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सोमबार नै सम्पन्न भइसकेको छ ।
मतपत्र छपाइ कार्य निकै संवेदनशील रहेको कुनै गल्ती गर्ने छुट नभएकाले आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गर्ने गरेको कार्यवाहक आयुक्त भण्डारीले बताएका छन् । आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा स्थानमा मतपत्र पु¥याउने लक्ष्य राखेको छ । सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ । उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने छ ।
प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने आयोगले जनाएको छ ।
निर्वाचन व्यवस्थापनका क्रममा आयोगबाट सम्पादन गरिने हरेक क्रियाकलाप उत्तिकै महत्वपूर्ण भएको कार्यवाहक प्रमुख भण्डारीको भनाइ छ । निर्धारित कार्यतालिका अनुसार आयोगले जुन दिन जुन कार्य सम्पन्न गर्ने भनेर निर्धारण गरेको हुन्छ सोही अनुसार नै कार्यसम्पादन गर्नै पर्ने अनिवार्य दायित्व हुने गरेको पनि उनले बताए ।
प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
कार्यवाहक प्रमुख भण्डारीले राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचन अचारसंहिताको पूर्ण परिपालना हुनेमा आयोग विश्वस्त रहेको पनि बताएका छन् । आयोगले यसपटक आचारसंहितामा व्यवस्था गरेका प्रावधानहरूलाई कडाइका साथ कार्यान्वयन गर्ने उनको भनाइ छ ।





















