Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन थप सशक्त बन्दै

टीआईटीएफ २०२६ः नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दक्षिण–पूर्व एशियाली प्रमुख पर्यटन स्रोत बजार थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन थप सशक्त बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बैंककमा सम्पन्न ३१औँ थाइ इन्टरनेशनल ट्राभल फेयर (टीआईटीएफ) २०२६ मा सफल सहभागिता जनाउँदै नेपाली पर्यटनको विविधता र सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

२२ देखि २५ जनवरी २०२६ सम्म क्विन सिरिकिट नेशनल कन्भेन्सन सेन्टरमा आयोजित चारदिने पर्यटन मेलामा बोर्डले नेपाल एयरलाइन्स तथा नेपालका ११ प्रतिष्ठित ट्राभल तथा ट्रेकिङ कम्पनीसँग मिलेर ‘नेपाल प्याभिलियन’ मार्फत पर्यटन प्रवर्द्धन गरेको हो । मेलामा सहभागी कम्पनीहरूले साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी पर्यटन उत्पादनहरूबारे प्रत्यक्ष जानकारी दिएका थिए ।

थाइल्याण्ड र नेपालबीचको दैनिक प्रत्यक्ष उडान तथा साप्ताहिक २० भन्दा बढी हवाई सेवाले दुई देशबीचको पर्यटन आदान–प्रदानलाई सहज बनाएको छ । यही हवाई पहुँचले थाइ बजारमा नेपालको पर्यटनप्रति चासो बढाउन महत्वपूर्ण भूमिका खेलेको बोर्डको भनाइ छ ।

मेलाका क्रममा लुम्बिनी, हिमाली क्षेत्र, सम्पदा शहरहरू, पदमार्गहरु, साहसिक तथा आध्यात्मिक यात्राका उत्पादनहरूले थाइ पर्यटकहरूलाई आकर्षित गरेको थियो । पर्यटन व्यवसायीसँग प्रत्यक्ष संवादमार्फत सम्भावित यात्रुहरूलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने अवसर मेलाले प्रदान गरेको बोर्डले जनाएको छ ।

पर्यटन प्रवर्द्धनसँगै टीआईटीएफ २०२६ व्यवसाय–देखि–व्यवसाय (बीटुबी) नेटवर्किङका लागि पनि प्रभावकारी प्लेटफर्म बनेको थियो । सहभागी नेपाली कम्पनीहरूले थाइ ट्राभल ट्रेड, टुर अपरेटर तथा सञ्चारमाध्यमका प्रतिनिधिसँग भेटघाट गर्दै नयाँ व्यावसायिक सम्बन्ध स्थापना र भविष्यका सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए ।

टीआईटीएफ २०२६ मा नेपालको उपस्थितिले थाइ बजारमा नेपालको पर्यटन छविलाई थप मजबुत बनाएको, दीर्घकालीन पर्यटन वृद्धिका लागि साझेदारी सुदृढ गरेको र दक्षिण–पूर्व एशियामा नेपालको गन्तव्य पहिचानलाई नयाँ उचाइमा पुर्‍याउन भूमिका खेलेको बोर्डको विश्‍वास छ ।

Health Tips Ad Road Block