काठमाडौं । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया सहभागी वक्ताहरुले ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँदै गरिबी न्यूनिकरणमा लघुवित्तहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवम् अर्थविज्ञ डा. गुणाकर भट्टले वर्तमान समयमा लघुवित्त क्षेत्रमा देखिएका समस्याहरुको साझा प्रयास र पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिए । उनले लघुवित्त क्षेत्रमा समस्या मात्र नभई सम्भावना प्रचुर रहेको स्मरण गर्दै अर्थतन्त्र चलायमान बनाउने विषयमा लघुवित्तको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । भट्टले केही लघुवित्तमा समस्या आयो भन्दैमा सम्पूर्ण लघुवित्त क्षेत्र नै समस्याग्रस्त भयो भन्न नमिल्ने भन्दै कतिपय सकारात्मक परिवर्तनमा योगदान गरिरहेका लघुवित्तको बारेमा पनि चर्चा परिचर्चा गर्नुपर्नेमा जोड दिए ।
समस्या जसरी समाधान पनि सँगसँगै हुने भन्दै भट्टले लघुवित्त क्षेत्रले सरकार, नियमक निकाय र सरोकारवालाहरुसँग आफ्ना कुराहरु सामूहिकरुपमा राख्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले पछिल्लो समय कानुनमा भएको बदलावको बारेमा समग्र लघुवित्त क्षेत्रलाई जानकारी होस् भन्ने ध्येयका साथ देशभरका ३५ वटा भन्दा बढी लघुवित्त वित्तीय संस्थाका प्रमुखहरुलाई सहभागी बनाई दुइपक्षीय छलफल गरिएको बताए । अधिकारीले सुधारको सुरुवात आफूबाट गर्नुपर्ने भन्दै सबैभन्दा पहिले संस्थागत सुशासनमा विशेष ध्यान दिन सबैलाई अनुरोध गरे ।
यसैगरी कार्यक्रममा प्रस्तुत भएका २ वटा कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका उप निर्देशक पिताम्बर पोख्रेलले लघुवित्त क्षेत्रमा नियमकीय तवरबाट हुनुपर्ने व्यवस्थामा सहजिकरणका लागि आफूहरु तयार रहेको बताए । उनले लघुवित्त क्षेत्र आफैंमा नराम्रो नभई केही गलत व्याक्तिका कारण यस क्षेत्र समस्यामा परेको उनको धारणा थियो । पोख्रेलले लघुवित्त क्षेत्रमा गर्नुपर्ने सुधारका लागि कानुन सम्वत रुपमा आफूहरुले कार्य गर्दै आएको भन्दै यस क्षेत्रलाई कस्तो बनाउने भन्ने विषयमा लघुवित्त क्षेत्र, सरोकारवाला र नियमक नियकाको सहकार्यमा टुङ्गोमा पुग्न सकिने बताए ।
यसैगरी कार्यक्रममा लघुवित्त क्षेत्रका समस्या, चुनौती तथा दिगो व्यावसायिक सन्तुलनका विषयमा नेरुडे मिर्मिरे लघुवित्त संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी लघुवित्त क्षेत्रको वर्तमान समस्या निराकरणका उपाय र नियामकीय रणनीतिका विषयमा नेपाल राष्ट्र बैंकका उप निर्देशक विवेक कोइरालाले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट विदुर लुइँटेलले लघुवित्त संस्थामा कर्जा नोक्सानी व्यवस्था, सन्दर्भ अवधारणा र प्रभाव विषयमा प्रस्ुतती राखेका थिए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिृकत पृथ बहादुर थापाले लघुवित्त क्षेत्रमा गहिरो गरी अनुसन्धानको आवश्यकता रहेको बताए । उनले सतही कुरामा विश्वास गरेर धारणा बनाउने भन्दा पनि वास्तविकताको नजिक रहेर लघुवित्त क्षेत्रको बारेमा बहस गर्नुपर्नेमा जोड दिए । थापाले सकारात्मक कार्य गरेका लघुवित्तलाई प्रोत्साहन र खराब गरेकाहरुलाई सुधारको अवसर प्रदान गर्नुपर्ने माग गरे । यसै सन्दर्भमा लघुवित्तहरुले महिलाहरुको आत्मसम्मान, आत्मविश्वास बनाउनका साथै आयआर्जनमा समेत ठूलो सहयोग गरिरहेको प्रतिक्रिया दिए । उनले विपन्न वर्गमा वित्तीय पहुँच पु¥याउने कुरा र लघु उद्यम प्रवद्र्धनको क्षेत्रमा लघुवित्तको योगदान महत्वपूर्ण रहेको बताए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयमा केन्द्र, प्रदेश, स्थानीय तह र प्रारम्भिक संस्थाहरुसम्म पुगेर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । लघुवित्तले अहिले देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्दै ग्रामीण क्षेत्रका गरिब किसानहरुलाई आयआर्जनसँग जोड्ने कार्य गर्दै आएको छ ।






















