काठमाडौं। नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील घडीमा पार्टीभित्र देखिने अभिव्यक्ति र गतिविधिले संगठनलाई कमजोर होइन, अझ मजबुत बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । पार्टीभित्रका असहमति र आलोचनालाई सार्वजनिकरूपमा तन्काउनु उपयुक्त नभएको उल्लेख गर्दै उनले नेतृत्व र कार्यकर्ताले पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिएका छन् । नेता पाण्डेले अहिलेको समय आपसी टिप्पणी र खण्डनमा अल्झिने होइन, साझा लक्ष्यतर्फ केन्द्रित हुने भएको स्पष्ट पारेका छन्। ‘निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो । यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्दछ,’ उनको भनाइ छ।
पार्टीभित्र देखिने असहमति र मतभेदलाई संस्थागत ढंगले समाधान गर्नुपर्ने धारणा राख्दै पाण्डेले आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नु राजनीतिक परिपक्वताको सङ्केत नहुने उल्लेख गरेका छन्। ‘आफ्नै सहयोद्धाहरूलाई सार्वजनिकरूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो,’ उनले भनेका छन्।
नेता पाण्डेले पार्टी निर्णयलाई स्वीकार गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताए । उनले टिकट वितरणको ‘क्याल्कुलेसन’ लाई पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गरिएको उल्लेख गर्दै त्यस विषयमा अनावश्यक टिप्पणी गर्नुको अर्थ नरहने धारणा राखे । ‘टिकट वितरणको क्याल्कुलेसनलाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्यौं,’ उनले भने, ‘तर एमालेलाई जिताउने हाम्रो साझा सङ्कल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन।’
नेता पाण्डेले पार्टीभित्र वैचारिक असहमति हुनु स्वाभाविक भएपनि त्यसलाई आधार बनाएर व्यक्ति वा समूहप्रति पूर्वाग्रह राख्नु आफ्नो राजनीतिक संस्कार नभएको स्पष्ट पारे । ‘मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन्,’ उनले भने, ‘मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन।’
पार्टीभित्रका टिप्पणी र प्रतिटिप्पणीमा समय खेर फाल्नुभन्दा अहिले संगठन र उम्मेदवारको जित नै पहिलो प्राथमिकता भएको नेता पाण्डेको भनाइ छ। उनले आफू एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्णरूपमा मैदानमा खटिइसकेको बताए । ‘टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु,’ उनले उल्लेख गरे ।






















