काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज माघ ६ गते मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । यो शेयरमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरुले भर्न पाउनेछन् ।
योसँगै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड २२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ २० गते हुनेछ भने ढिलोमा फागुन ८ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ ९ गतेभित्र आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि माघ २० गतेसम्म लम्बिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।





















