काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेका छन् । सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको पारिवारिक स्रोतले जनाएको छ । घटनास्थलमै उनीहरूको मृत्यु भएको बताइएको छ । विस्फोटपछि आगलागी हुँदा वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन् ।
गाउँपालिका–२ की वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक छन् । यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक रहेका छन् । उनीहरू करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो, जहाँबाट दुर्घटना भएको अनुमान गरिएको छ ।
एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ शोकमा डुबेको छ । गाउँभरी शोकको वातावरण छाएको छ भने आफन्त तथा छिमेकीहरू स्तब्ध बनेका छन् ।





















