काठमाडौं । काठमाडौंको बालाजुबाट भन्सार छलि गरी ल्याइएको ठूलो परिमाणको मल र मकैसहित एक मालवाहक ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालाजु पुल नजिकबाट ना ६ ख ७०११ नम्बरको मालवाहक ट्रकलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइ खानतलासी गर्दा भन्सार छलि गरिएको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
ट्रकको बाहिरी भागमा मकैका बोरा राखी भित्र लुकाइछिपाइ राखिएको अवस्थामा ४०० बोरा युरिया मल र ६० बोरा मकै बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद युरिया मल ४०० बोरा (प्रतिबोरा ४५ किलो) र मकै ६० बोरा (प्रतिबोरा ५० किलो) रहेको छ ।
ट्रक चालक जिल्ला रौतहट, बृद्धाबन नगरपालिका वडा नम्बर ०६ घर भई हाल बसोबास गर्दै आएका करिब २५ वर्षका राजकुमार महत्तो रहेका छन् । उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सामान, मालवाहक ट्रक तथा चालकलाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको प्रहरीले जनाएको छ ।






















