काठमाडौं । नेपाल राष्ट्र बैंकले १ वर्षका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको हो । अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र आज जारी गरिनेछ । यो ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्य”नतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
तापनि ऋणपत्र निष्काशन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रीय बैंकले निकालेको सूचनामा उल्लेख गरिएको छ । बोलकबोलबाट हुने यसको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुनेछ । यसको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।






















