काठमाडौं । पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्योग प्रति समर्पित कोशी प्रदेशको इटहरी, नेपालमा अवस्थित पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने रु.४० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्नेछ । होटेलले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।
आईपीओ निष्काशनका लागि होटल गरिमा लिमिटेडको तर्फबाट प्रबन्ध संचालक विनोद पौडेल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडांैमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको हो ।
होटल गरिमा लिमिटेडको यो कदमले विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेषगरी कोशी प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।
सोल्टी होटल एण्ड रिसोर्ट समूहबाट ब्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठ वटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन् । होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, “नुवाड थाई” ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् ।






















