काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.६ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको तथ्याँकले यो विवरण देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो ।
२०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब १८ अर्ब ७९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ९५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७०० अर्ब ४३ करोड रहेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १,७५,५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,६३,९२४ रहेको छ । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,९०,३८४ र १,३५,४२५ रहेको थियो ।





















