काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग गरे सरकारले कारवाही गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै उक्त चेतावनी दिएको हो ।
विभागले सूचनामा भनेको छ, ‘नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८।१०।१७ गतेको निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेको छ। साथै चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य को बुँदा नं. ११८ मा समेत प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा सम्वत् २०८२ मंसिर १ गतेदेखि लागु हुने गरी रोक लगाइएको समेत छ। यसर्थ उल्लेखित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्नु–नगराउनुहुन सम्बन्धित सबैलाई यसै सूचना मार्फत पुनः जानकारी गराइएको व्यहोरा अनुरोध छ।’
विभागले दाेहाेर्याएर भनेको छ, ‘यदि यस सूचनाको वर्खिलाप बजारमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारवाही भई जाने व्यहोरा समेत सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ ।’






















