काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण सभा बिहीबार दियो महल, धुम्बाराही, काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । सभाले शेयरधनीहरूका लागि लाभांशसहितका विविध प्रस्तावहरू पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसअनुसार अब कम्पनीले शेयरधनीहरूलाई कुल ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । त्यसैगरी सभाले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गरेको छ । आगामी आव २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्चलाई सभाले अनुमोदन गरेको छ । सभाले प्रबन्ध–पत्र तथा नियमावलीमा नियमनकारी निकायबाट फेरबदलको निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
सभा समापन गर्दै अध्यक्ष डा. अर्यालले कम्पनीको प्रगतिमा सहयोग गर्ने शेयरधनी, बीमित, नियामक, अभिकर्ता र कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीले अझ उत्कृष्ट र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।






















