काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटि) ले माइकार्ड नाममा पर्सनलाइज्ड कार्ड सेवा सेवा सुरुवात गरेको छ । यस सेवा अन्तर्गत एससिटि नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससिटि युनियन पे डेबिट कार्ड लिन सक्नेछन् ।
हाल एससिटि युनियन पे स्किम अन्तर्गत आइसीएफसी फाइनान्स लिमिटेडबाट सुरु गरिएको यो सेवा बैंक तथा वित्तीय संस्थाको रुची अनुसार भविष्यमा भिसा तथा नेपाल पे स्किममा समेत सुरु गर्न सकिने गरी विकास गरिएको छ भने एससिटि नेटवर्क बाहेकका बैंक तथा वित्तीय संस्थाले समेत माइकार्डको यो प्लेट्फर्म प्रयोग गरी सेवा प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससिटि युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । एससिटिले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससिटि युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरि कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको एससिटि नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।
एससिटिले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्युआर, स्मार्ट पे, आइबीएफटी अन्तर बैंक भुक्तानी सेवा, स्मार्ट बैंकिङ, मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।






















