काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौँमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सो को विरुद्ध सुरक्षा कवचको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । कुनै पनि राष्ट्रको अर्थतन्त्रको समग्र अवस्था, व्यवसायको विस्तार र दिगोपनको मूल्यांकन गर्दा बीमा बजारको विकास, पहुँच र विश्वसनीयतालाई एक प्रमुख सूचकको रुपमा लिने गरिन्छ । यही मान्यतालाई आत्मसाथ गर्दै बीमा बजारको स्थायित्व कायम राख्ने र विश्वसनीयता अभिवृद्धि गर्ने तथा यसको दायरा र प्रभाव विस्तार गर्ने उद्देश्यका साथ यस कम्पनीले आफ्नो स्थापनाको २८ औँ बर्ष सफलतापूर्वक पूरा गरिसकेको छ । बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउंदै बीमितको हकहितको संरक्षण गर्दै आफ्नो दायित्वप्रति कम्पनी सदैव प्रतिबद्ध रहँदै आएको उनले जानकारी गराए ।
समीक्षा वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने सम्बन्धि प्रस्ताव सर्वसम्मतीबाट स्वीकृत गरेकाे छ । त्यसैगरी ढकालले कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्गसहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्शालबाट पानीपोखरीस्थित आफ्नै भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरु भाडामा लगाई आम्दानी गरिने व्यहोरा समेत सभालाई जानकारी गराए ।
यसैगरी चालु आर्थिक वर्षको भदाै २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अरब ४४ करोडको दाबी परेको छ भने असोज १८ गते देखिको अविरल वर्षा, बाढी पहिरोबाट करिब ४ अरब बराबरको दाबी परेको छ । यद्यपी सरकाले अघि बढाइरहेका नीतिगत पहलकदमी, आर्थिक सूचकांकहरुमा देखिन थालेको र क्रमिक सुधार तथा शेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमशः सुदृढ हुँदै जाने अपेक्षा गर्दै दीर्घकालिन रुपमा व्यवसायिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने विचार उनले व्यक्त गरे ।
सभामा ढकालले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको वर्तमान परिवेशमा सूचना प्रविधिको माध्यमबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिँदै आएको र चालु आर्थिक वर्षमा अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको पनि सभालाई जानकारी गराए ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २८ औँ वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थिति सहित ५३१ जना कर्मचारीहरु, ४३० अभिकर्ताहरु र १९२ सर्भेयरहरुमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जानकारी गराए । उनले २०८२ साल माघ महिनाको अन्तसम्ममा कम्पनीको प्रधान कार्यालयबाट प्रदान गरिने सेवाहरु पानीपोखरीस्थित आफ्नै भवनबाट प्रदान गरिने व्यहोरा सभालाई जानकारी गराए ।
चुक्ता पूँजी रु.३ अरब २ करोडसहित निर्जीवन बीमा कम्पनीहरुमा सबभन्दा ठूलो बीमा कम्पनीको रुपमा आईजीआई रहेको र कम्पनीको व्यवसायमा पनि क्रमिक रुपमा वृद्धि हुँदै गएको उनले बताए । समीक्षा आवमा बैकिङ्ग क्षेत्रमा देखिएको तरलता र व्याजदरमा आएको कमीका कारण व्यावसय वृद्धि हुने अवेक्षा गरिएको थियो तर बैंकको कर्जाको व्याज एकल अंकमा आउँदा समेत अपेक्षाकृत ऋण लगानीमा वृद्धि हुन सकेन जसको बाबजुत आसातित व्यवसाय समेत वृद्धि हुन सकेन । त्यसैगरी नेपाल सरकारको विकास खर्च न्यून भएबाट देशमा ठूला ठूला आयोजनाहरु प्रत्यक्ष रुपमा प्रभावित भएको पनि श्रेष्ठले सभालाई जानकारी गराए ।
आव २०८०/०८१ मा निर्जीवन बीमा क्षेत्रको कूल बीमा प्रिमियम आर्जन रु.४१ अरब १७ करोड रहेकोमा समीक्षा बर्षमा ६.७७ प्रतिशतले वृद्धि भई रु.४३ अरब ९५ करोड रहेको छ । त्यसैगरी कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा हासिल गरेको बीमा प्रिमियम रु.३ अरब ६३ करोड ६१ लाखमा ६.३२ प्रतिशतले वृद्धि गरी समीक्षा वर्षमा रु.३ अरब ८६ करोड ५९ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको छ । त्यसैगरी समीक्षा वर्षमा कम्पनीले कूल दाबी संख्या १८ हजार ५ सयको लागि रु.२ अरब ४६ करोड ३३ लाख बराबरको दाबी भुक्तानी गरेको छ भने नेपाल सरकारलाई विभिन्न कर वापत कूल रु.७९ करोड ८७ लाख भुक्तानी गरी राष्ट्र निर्माणमा ठूलो योगदान पुर्याएको पनि उनले सभालाई जानकारी गराए ।
कम्पनीले नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राखी IGI Health Care : नयाँ बीमा योजना मार्फत सेवा शुरु गरेको र यस योजनाले व्यक्ति तथा परिवारको स्वास्थ्य बीमामा सहज सेवा प्रदान हुने लक्ष्य कम्पनीको रहेको छ । जसबाट नेपालमा रहेका सबैजसो अस्पतालहरुबाट नगदरहित सेवा प्रदान गर्ने गरी कम्पनीको नेटवर्कमा सहभागी भई सेवा प्रदान गरिरहेको छ भने भारतमा पनि यो सेवा प्राप्त हुने उनले जानकारी गराए ।
त्यसैगरी कम्पनीले पहिलो पटक नेपालमा विश्वभरबाट ट्रेकिङ्ग र पर्वतारोहणको लागि आउने विदेशी नागरिकहरुको लागि Himalayan Guardian Nepal सँगको सहकार्यमा IGI Tourist Insurance policy को शुरुवात गरेको छ । जसबाट नेपालका विभिन्न ठाउँमा ट्रेकिङ्ग र विभिन्न हिमश्रृखलाहरुको पर्वतारोहणको लागि आउने विदेशीहरुले दुघटना तथा उचाइजन्य रोग (Altitude Sickness) भएमा नगद रहित Rescue र औषधोपचार प्राप्त गर्न सक्ने गरी नयाँ बीमालेखको शुरुवात गरेको पनि सभामा उनले जानकारी गराए ।
कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति, नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत बीमा प्राधिकरणबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई अझै प्रभावकारी बनाउँदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारमा विशेष ध्यान दिएको उनले बताए । नेपाल बीमा प्राधिकरण लगायत कम्पनीको नियमानकारी निकायहरुबाट समय समयमा जारी हुने निर्देशनलाई विशेष महत्वका साथ परिपालन गर्दै कम्पनी अगाडि बढिरहेको छ । त्यसै गरी चुक्ता पूँजीको अनुपातमा कम्पनीले बीमा बजारमा आफ्नो स्थानलाई सुरक्षित गर्ने गरी गुणस्तरीय व्यावसायमा विषेश ध्यान दिँदै आएको छ र यसलाई अझै स्तरोन्नती गर्दै लाने गरी कार्यहरु भईरहेको व्यहोरा श्रेष्ठले सभालाई जानकारी गराए ।
अन्तमा संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको २८ औँ वार्षिक साधारण सभामा भाग लिई सबै प्रस्तावहरुलाइ अनुमोदन गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अमूल्य सुझावहरु दिने शेयरधनीको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गरे । त्यस्तै नेपाल सरकारका विभिन्न निकायहरु, नेपाल बीमा प्राधिकरण लगायत नियामक निकायहरु तथा ग्राहकहरुलाई पनि उनले धन्यवाद व्यक्त गरे ।























