skip this News Page Tips Ad Road Block

इजरायल र ओमानसँग नयाँ श्रम सम्झौताको तयारी 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ । यसअघि केयरगिभरमा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक पठाउने गरेकोमा अब केयरगिभरको होम टु होम काम गर्ने र कृषिक्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी स्वीकृति भएको हो । सोमबारको मन्त्रीपरिषद् बैठकले इजरायल सरकार र नेपाल सरकारबीच तीन क्षेत्रमा श्रमिक पठाउने गरी श्रम सम्झौता (जिटुजी) गर्ने गरी स्वीकृत गरेको छ । इजरायल सरकारले यी क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा यसअगाडि नै निर्णय गरिसकेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले इजरायलमा यी क्षेत्रमा नेपाली श्रमिक पठाउने विषयमा नयाँ सम्झौताका लागि धेरै चरणमा कुरा भई त्यहाँको इजरायल सरकारबाट निर्णय भइसकेपछि मात्रै हामीले स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाएको जानकारी दिएका छन्। इजरायलसँग नयाँ हुने सम्झौतामा नेपाली श्रमिकका लागि दुई कार्यक्षेत्र थपिए पनि सम्झौताको प्रकृति यसअघिकै निरन्तरता भएको पनि उनले जानकारी दिए । उनका अनुसार नेपाल र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) श्रमिक पठाउने गरी जिटुजी सम्पन्न भए पनि स्वतः नवीकरणको प्रावधान नराखिएको हुँदा अहिले पुनः नयाँ सम्झौता गर्नु परेको हो । इजरायल र नेपालबिच कूटनीतिक सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको छ ।

यस्तै सरकारले ओमानसँग श्रम समझदारी (बिटुबी) मा स्वीकृति प्रदान गरेको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले नै ओमानसँग श्रम समझदारी गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको हो ।

ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्र (बिटुबी) मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको थियो । ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रको प्रक्रिया अगाडि बढेको जानकारी यसअघि प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपाल र ओमानबिच कूटनीतिक सम्बन्ध कायम भएको करिब ५० वर्षपछि श्रम सम्झौतालाई अन्तिम रूप दिन पत्र पठाएको हो ।

Health Tips Ad Road Block