Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि सौराहामा १९ औं संस्करणको हात्ती तथा पर्यटन महोत्सव, पर्यटककलाई १० प्रतिशतसम्म छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चितवनको सौराहामा आजदेखि १३ गते आइतबारसम्म आयोजना हुने १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ सुरु भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव गरिएको हो । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा महोत्सव आयोजना भएको हो ।

विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्रको पर्यटन प्रवर्द्धन, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, संरक्षण चेतना र दिगो पर्यटन विकास महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । सन् १९९७ देखि निरन्तर आयोजना हुँदै आएको यस महोत्सवले चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको भनाइ छ ।

चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन र वर्तमान सन्दर्भमा आन्तरिक पर्यटन प्रवर्द्धन र गन्तव्य ब्रान्डिङका लागि हात्ती महोत्वसव प्रभावकारी भइरहेको र महोत्सवले नेपालको पर्यटन उद्योगलाई उचाईमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्‍ने दाबी गरिएको छ ।

महोत्सवमा हात्तीको पूर्ण सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ छ । महोत्सवमा हात्तीमाथि कुनै पनि किसिमको क्रूर व्यवहार निषेध गरिएको छ भने पशु चिकित्सकको नियमित निगरानी, तालिमप्राप्त माहुतेको मात्र सहभागिता र स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । सबै गतिविधि प्रतिस्पर्धाभन्दा पनि मानव–हात्तीबीचको सौहार्दता, संस्कृति र परम्पराको प्रवर्द्धनमा केन्द्रित रहने बताइएको छ ।

महोत्सव अवधिभर करिब ८० वटा हात्तीको सहभागिता रहनेछ । हात्ती शोभायात्रा, सांस्कृतिक झाँकी, हात्ती सजावट प्रदर्शन, हात्ती भोजन कार्यक्रम, हात्ती स्वास्थ्य शिविर, हात्तीमैत्री खेल, स्थानीय स्तरका खेलकुद प्रतियोगिता, सफारी पर्यटन प्रवर्द्धन कार्यक्रम तथा मानव–वन्यजन्तु सहअस्तित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहनेछन् ।

यसका साथै स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको बजारीकरण पनि महोत्सवले भूमिका खेल्‍ने आयोजकको विश्‍वास छ । डिजिटल प्रविधिको प्रयोगमार्फत कार्यक्रमको प्रचार–प्रसार गरिने र वातावरणमैत्री संरचना तथा स्टलहरू निर्माण गरिने जानकारी पनि आयोजकले दिएको छ । महोत्सवको अवसरमा पुस ११ देखि १३ गतेसम्म सौराहाका होटल तथा रेस्टुरेन्टहरूमा खाना र आवासमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवका कारण चितवनमा प्रत्येक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुँदै आएको आयोजककाे दाबी छ ।

Health Tips Ad Road Block