Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रिजिड पेभमेन्टसम्बन्धी डिजाइन तथा निर्माण तालिम पोखरामा सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

पोखरा । सिमेन्ट उत्पादक संघ नेपालको आयोजना तथा आइपीटीएम नेपालद्वारा सहजीकरण गरिएको ‘डिजाइन एण्ड कन्स्ट्रक्सन अफ रिजिड पेभमेन्ट’ विषयक तालिम होटल ल्याण्डमार्क, लेकसाइड, पोखरामा सम्पन्न भएको छ। सिमेन्ट उत्पादक संघ नेपालका अध्यक्ष रघु नन्दन मारुको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन ई। चुमन बाबु श्रेष्ठले गरेका थिए । कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीको उपस्थितिमा भएको कार्यक्रममा सुपरिन्टेन्डेन्ट इन्जिनियर, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखराका ई। नरेन्द्र सुवेदी, वरिष्ठ डिभिजनल इन्जिनियर, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका ई। रामकुमार श्रेष्ठ सहभागी थिए ।

कार्यक्रममा सिमेन्ट उत्पादक संघ नेपालका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक ई। ध्रुव थापाले स्वागत मन्तव्य राख्दै नेपालमा कङ्क्रिट पक्की निर्माणका लागि उपयुक्त कम लागतको कङ्क्रिट पेभर प्रविधि सम्बन्धी भिडियो समाग्री प्रस्तुत गरेका थिए । तालिम सहजकर्ता ई। अर्जुन जंग थापाले रिजिड पेभमेन्टको परिचय तथा नेपालमा यसको सान्दर्भिकता” विषयमा प्राविधिक अभिमुखीकरण प्रस्तुति दिएका थिए । प्रस्तुतिमा सिमेन्ट कङ्क्रिटबाट निर्माण गरिने रिजिड पेभमेन्टले ट्राफिकको भारलाई स्ल्याबमार्फत फराकिलो क्षेत्रफलमा वितरण गर्ने भएकाले कमजोर सबग्रेड, भारी सवारी साधन, पानी जम्ने तथा चुहावट हुने क्षेत्रमा समेत प्रभावकारी हुने तथ्य उजागर गरिएको थियो। उसले नेपालको भौगोलिक विविधता, बाढी वर्षा, बढ्दो सवारी चाप तथा बिटुमिन सडकको उच्च मर्मत लागतका कारण नेपालमा रिजिड पेभमेन्टको प्रयोग झनै सान्दर्भिक बन्दै गएको उल्लेख गरे । यद्यपि प्रारम्भिक लागत बढी भए पनि लामो आयु (२५–३० वर्षभन्दा बढी) र न्यून मर्मत खर्चका कारण यसको जीवनचक्र लागत कम हुने भएकाले यो दीगो तथा आर्थिक रूपमा लाभदायी विकल्प रहेको प्रस्तुतीकरणमा जोड दिइयो।

विशेष मन्तव्य दिँदै ई। नरेन्द्र सुवेदीले इन्जिनियर तथा सब–इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम आयोजना गरेकोमा संघलाई धन्यवाद ज्ञापन गरे । उनले तालिममा चर्चा गरिनु पर्ने केही विषयवस्तुको बारेमा उल्लेख गर्दै नेपालको सिमेन्ट उद्योग आत्मनिर्भर भई भारतसम्म सिमेन्ट निर्यात हुन थालेकोमा खुशी ब्यक्त गरे । तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गरी गुणस्तरीय र दीगो सडक निर्माणमा योगदान पुग्ने अपेक्षा उनले व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अधिकारीले सरकारी निर्माण ठेक्कामा न्यूनतम दरमा ठेक्का दिने प्रचलनका कारण निर्माण कार्यको गुणस्तरमा नकारात्मक असर परेको धारणा व्यक्त गरिन् । गाउँपालिकाको सुपरिवेक्षण टोलीको फोकल पर्सनको रूपमा कार्यरत रहँदा तालिमले डिजाइन, निर्माण प्रक्रिया र गुणस्तर नियन्त्रणको महत्त्वबारे आफ्नो दृष्टिकोण अझ स्पष्ट भएको उनको भनाइ थियो। स्थानीय तहका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रम अत्यन्त आवश्यक रहेकोमा उनले जोड दिइन् ।

कार्यक्रममा सिमेन्ट उत्पादक संघ नेपालका कोषाध्यक्ष अरुणकुमार कर्णले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमबारे थप प्रकाश परेका थिए । त्यस्तै अध्यक्ष रघु नन्दन मारुले ‘स्मार्ट च्वाइस फर कंक्रिट पेभमेन्ट’ शीर्षकमा संक्षिप्त प्रस्तुति दिँदै सिमेन्ट कङ्क्रिट सडकका दीर्घकालीन आर्थिक, प्राविधिक तथा वातावरणीय फाइदाबारे प्रकाश पारे । तालिमले नेपालमा गुणस्तरीय, दिगो तथा दीर्घकालीन सडक पूर्वाधार विकासमा संलग्न प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block