काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय अभियान सुरु भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोष तथा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले संयुक्तरुपले अभियान प्रारम्भ गरेको हो । बुधबार काठमाडौंमा एक कार्यक्रम गरी अभियान प्रारम्भ गरिएको हो । अभियान प्रारम्भकाक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष र अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि एवं पदाधिकारी, व्यवसायिक क्षेत्रका प्रतिनिधि, श्रमिक संगठनका नेताहरु, विभिन्न स्थानीय तह र सरोकारवालाको सहभागिता रहेको थियाे ।
कार्यक्रममा अभियानसम्बन्धी सन्देशमूलक भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिकका सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखेका थिए । उनले नीतिगत व्यवधान हटाउन सरकारले सबै प्रयास जारी राख्ने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कार्यक्रम नागरिकलाई राज्य छ भन्ने अपनत्व महसुस गराउने प्रभावकारी माध्यम भएको बताए ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले २०७५ साल मंसिरदेखि सामाजिक सुरक्षा कार्यक्रमहरु अगाडि बढाइएको जानकारी दिँदै सामाजिक सुरक्षा कोषमा हालसम्म २६ लाख ५० हजार आबद्ध भएको जानकारी गराएका थिए । उनले सामाजिक सुरक्षा कोषका कार्यक्रमबारे विस्तृतरुपमा जानकारी दिएका थिए ।
अन्तराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का देशीय निर्देशक नुमान ओज्कानले सामाजिक सुरक्षामा श्रमिक आबद्ध हुनु भनेको आफ्नो र परिवारको भविष्यलाई सुरक्षित गर्नु रहेको भन्दै अभियानबारे प्रष्ट पारेका थिए ।
सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन राष्ट्रिय अभियान सुरु गरिएको कोषले स्पष्ट पारेको छ । यो अभियानले आगामी दिनमा स्थानीय सरकारहरूसँग समन्वय गरी श्रमिकको पहिचान र दर्ता गर्ने, योगदानमा आधारित अनुदानलाई कार्यान्वयनमा ल्याउने र सञ्चार माध्यममार्फत जनचेतना फैलाउने लक्ष्य राखेको छ । अनौपचारिक तथा स्वरोजगार श्रमिकको ठूलो संख्या रहेको नेपालमा यो अभियानलाई समावेशी सामाजिक सुरक्षा प्रणाली विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।






















