Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मुलुकमा पूर्वाधार विकासको स्थिति कमजोरः गभर्नर पौडेल

पूर्वाधार संरचना विस्तारको निम्ति संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको स्थिति कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारको निम्ति संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए । साथै पूर्वाधार विकासमा वैदेशिक लगानी परिचालनका निम्ति नीतिगत र संरचनागत वातावरण सहज हुनुपर्ने विचार उनले व्यक्त गरे ।

कार्यक्रममा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशालाई समेटेर कार्यपत्र प्रस्तुत गरे । समष्टिगत अर्थतन्त्रको पृष्ठभूमि, अर्थतन्त्र र वित्तीय क्षेत्रको स्थिति, विद्यमान चुनौती र त्यसलाई सम्बोधन गर्न सरकार र राष्ट्र बैंकबाट भएका नीतिगत प्रयास र दीर्घकालीन सुधारको मार्गचित्रबारे उनले चर्चा गरे ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् पृथ्वीराज लिगलले कार्यपत्रमाथि टिप्पणी गर्दै कुल राष्ट्रिय बचत बढ्दै जाँदा लगानीको अनुपात चाहिँ कमजोर रहेको विचार व्यक्त गरे । । बाह्य क्षेत्रको स्थिति सबल देखिए तापनि अर्थतन्त्रका अन्य परिसूचकहरू निकै कमजोर रहेको टिप्पणी उनले गरे । अहिलेको अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी नबढाउँदासम्म अर्थतन्त्र सुधार नहुने उनको भनाइ थियो ।

अर्थविद् डा. गोविन्द नेपालले विदेशी विनिमय सञ्चितिलाई उत्पादनमूलक र पूर्वाधार विकासको क्षेत्रमा परिचालनका निम्ति सरकारले प्रयास गर्नुपर्ने धारणा राखे । अर्थशास्त्री डा.कल्पना खनालले ब्याजदर निरन्तर घट्दै जाँदा त्यसले पुँजी पलायनलाई प्रश्रय मिल्नसक्ने उल्लेख गर्दै उपलब्ध वित्तीय स्रोतलाई पूर्वाधार परियोजनामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।

यसैगरी राष्ट्रिय आयोगका पूर्व सदस्य एवम् सह–प्राध्यापक डा.रमेशचन्द्र पौडेलले मुलुकको अर्थतन्त्र शिथिल रहेको उल्लेख गर्दै वैदेशिक लगानी परिचालन र उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका निम्ति वित्त नीति सबल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उच्च अधिकारी, राष्ट्र बैंकका उच्च अधिकारी, उद्योगी/व्यवसायी, बैंकर, सञ्चारकर्मी र आर्थिक तथा वित्तीय क्षेत्रसम्बद्ध अन्य निकायका प्रतिनिधिको सहभागिता थियो । प्रस्तुत कार्यपत्र र अर्थतन्त्रको समसामयिक स्थितिबारे सहभागीका तर्फबाट विभिन्न सुझाव र धारणा राखिएको थियो । सो अवसरमा बैंकका प्रवक्ता एवम् मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वित्तीय क्षेत्रलाई सुदृढ र गतिशील बनाउनका निम्ति राष्ट्र बैंकबाट भइरहेका प्रयासबारे जानकारी दिएका थिए ।

Health Tips Ad Road Block