काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९ औंवार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा सम्पन्न भएको छ । संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको नाडाले जनाएको छ ।
संस्थामा हाल नवीकरण भएका कुल १,५४८ सदस्यहरूमध्ये १,४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको नाडाले जनाएको छ । साथै कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयँंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको थियो ।
संस्थाको विशुद्ध आन्तरिक प्रक्रिया भएकाले बन्द सत्रमा मिडिया प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको नाडाले जनाएको छ ।
नाडाका अनुसार साधारण सभाका मुख्य विषयहरू यसप्रकार छन्ः
–संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ ।
– आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्ग निर्देशन पारित भएको छ ।
–अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको छ ।
–सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भयो ।
यसैक्रममा संस्थाको नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन गर्ने निर्णय भएको नाडाले जनाएको छ ।
सभामा महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भएको पनि नाडाले जनाएको छ । आगामी दिनमा पनि कानुनी मापदण्डको पालना गर्दै पूर्ण पारदर्र्शी र संस्थागत जिम्मेवारीप्रति कटिबद्ध रहने नाडाले प्रतिबद्धता दोहोर्याएको छ ।






















