Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमाले महाधिवेशनमा २४ बुँदे प्रस्ताव पारित, नवयुवाका माग पुनर्स्थापित संसदद्वारा पुरा गर्ने प्रतिवद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमालेको हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरु पारित गरेको छ । महाधिवेशनको बन्दसत्रले तत्कालिन उपमहासचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन गरेको थियो ।

महाधिवेशन समापनका अवसरमा ज्ञवालीले प्रस्ताव पेश गर्दै एमाले देशको विकास र समृद्धिका लागि नव युवासँग अझ सार्थक संवाद गर्न तयार रहेको बताएका छन् । एमाले युवाहरुको सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको ज्ञवालीले उल्लेख गरेका छन् । ‘पार्टीले संगठनात्मक संरचनाहरुमा युवा सहभागिता बढाउन विभिन्न निर्णयहरु गर्दै अगाडी बढेको छ’ प्रस्तावमा भनिएको छ ‘सरकारमा रहँदा उद्यमशिलता,सीप विकास र बजार श्रृंखलाको इकोसिस्सटम निर्माण गर्न,स्टार्टअप मार्फत नवप्रवर्तनको विकास लगायत क्षेत्रमा कदम चाल्दै आएको छ ।’

एमालेले युवाहरुलाई सार्थक संवादमा आउन पनि आग्रह गरेको छ । नवयुवाहरुलाई लक्षित गर्दै एमालेले भनेको छ ‘आफूहरुलाई सबै प्रकारका हिंसा र विध्वंसबाट अलग राख्नुहोस् । शान्तीपूर्ण आन्दोलनको अपहरण गरेर देशलाई दहन गर्ने अपराधीहरुको पहिचान गर्नुहोस र राजनीतिक दलहरुसँग सार्थक संवादमा आउनुहोस । हामी पुनर्स्थापना हुने संसद मार्फत युवाहरुका मागहरु संवैधानिक बाटोबाट संबोधन गर्ने प्रतिबद्ध छौं ।’

एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको छानविन र गहिरो अनुसन्धानका लागि माग गरेको छ। दोषी देखिएकाहरुलाई कानुन बमोजिम कार्बाही गर्न पनि माग गरेको छ । राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरे एमाले उक्त कार्यमा सहयोग रहने प्रस्तावमा उल्लेख छ । विषम परिस्थितिका बीच पनि पार्टीको ११ औं महाधिवेशन भब्यरुपमा आयोजना हुनु पार्टीको प्रतिरोधी क्षमता बलियो र जनाधार मजबुद भएको प्रमाण भएको एमालेको प्रस्तावमा उल्लेख छ । ‘यो महाधिवेशन संकटको घडीमा पार्टीलाई जोगाउन,जगाउन र सुदृढ बनाउन योगदान गर्नुहुने सबै नेता कार्यकर्ता तथा न्यायप्रेमी जनसमुदायप्रति आभार व्यक्त गर्दछ ’ प्रस्तावमा भनिएको छ ‘सिंगो पार्टीपंक्तीलाई अविचलित,दृढ र एकताबद्ध भएर अगाडि बढ्दै निर्णायक राष्ट्रिय शक्ति निर्माण,हाम्रो संकल्प,समृद्ध नेपाल,सुखी नेपाली हाम्रो गन्तव्य भन्ने मुल नारालाई साकार पार्न आह्वान गर्दछ ।’

महाधिवेशनले पास गरेको प्रस्तावमा आन्तरिक र बाह्य बसाँइसराईंको तिव्र गतिले गाउँघरहरु रित्तिन थालेकोप्रति चिन्ता प्रकट गरिएको छ । एमालेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविनको माग गरेको छ । घटना छानविनका लागि पूर्वाग्रही र दुषित सोचयुक्त व्यक्तिको नेतृत्वमा नभइ दक्ष, विज्ञ र निष्पक्ष आयोग गठनको माग एमालेले गरेको छ ।

Health Tips Ad Road Block