काठमाडौं । आज पुस १ गते मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । यो भनेको यसअघिका दिनमा डलर किन्न जति पैसा लाग्दथ्यो आज हालसम्मकै बढी नेपाली रुपैयाँ पर्ने भएको हो । अथवा अर्को भाषामा भन्नुपर्दा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बन्न पुगेको हो ।
सोमबार भने अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा रहेको थियो ।
डलरको मूल्य बढ्दा कस्ता असर पर्न सक्छन् ?
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आम्दानी बढ्ने हुन्छ । किनकि डलरमा पठाएको रेमिट्यान्सको नेपालमा धेरै पैसा आउँछ । पर्यटन आम्दानीमा वृद्धि हुनेछ । निर्यात गर्ने आम्दानीमा पनि लाभ लिन सकिनेछ ।
अर्कोतिर नेपाल आयातमा आधारित मुलुक भएकाले डलरको भाउ बढ्दा आयातित वस्तु तथा सामानको मूल्य भने बढ्न पुग्छ । यसले बजार महँगीलाई थप बढ्ने बाटोतर्फ अगाडि बढाउनेछ र बजार महँगी हुन सक्नेछ । आयात महँगो पर्न जाँदा विदेशी मुद्रा संचितिमा चाप पर्न सक्दछ ।
डलरको मूल्य बढेपछि नेपालले डलरमा तिर्नुपर्ने सावाँ र ब्याज बढ्न पनि जाने हुँदा नेपाललाई थप आर्थिक भार पर्न सक्दछ ।






















